काठमाडौं, साउन ७। नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, दूरदर्शी चिन्तक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपाल कम्युनिष्ट आन्दोलनको वैचारिक जग निर्माण गर्न ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टीलगायत विभिन्न कम्युनिष्ट दल, जनवर्गीय संगठन तथा शुभेच्छुकहरूले विचारगोष्ठी, पुष्पाञ्जली, श्रद्धाञ्जली सभा र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्।
नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलनलाई संगठित स्वरूप दिने व्यक्तित्वका रूपमा परिचित पुष्पलाल श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीकुमारी श्रेष्ठका माइलाे सुपुत्रका रूपमा भएको थियो। उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्थ्यो। बाल्यकालदेखि नै सामाजिक चेतना र परिवर्तनप्रतिको लगाव बोकेका पुष्पलालले पछि नेपालको राजनीतिक इतिहासमा युगान्तकारी भूमिका निर्वाह गर्नुभयो।
उहाँको राजनीतिक यात्राको प्रेरणादायी प्रसंगमध्ये एक अमर शहीद गङ्गालालसँग जोडिएको छ। वि.सं. १९९७ सालमा गङ्गालाललाई मृत्युदण्ड दिनुअघि भद्रगोल जेलमा भेट्न जाँदा गङ्गालालले आफ्ना भाइ पुष्पलाललाई, “माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भन्ने प्रेरणादायी वचन दिनुभएको थियो। दाजुको यही अन्तिम सन्देशले पुष्पलाल श्रेष्ठलाई जीवनभर लोकतन्त्र, स्वतन्त्रता र सामाजिक परिवर्तनका लागि संघर्ष गर्ने दृढ संकल्प प्रदान गरेको इतिहासकारहरू बताउँछन्।
पुष्पलालको परिवार नै परिवर्तनकारी चेतनाले प्रेरित थियो। उहाँका पिता भक्तलाल श्रेष्ठ पनि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहनुभएको थियो। उहाँ २००९ सालमा अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको एक्सन कमिटीका अध्यक्षसमेत बन्नुभएको थियो।
राणाशासनविरुद्धको आन्दोलनलाई संगठित गर्ने उद्देश्यले पुष्पलाल श्रेष्ठले वि.सं. १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभयो। त्यसबेला संघका सदस्यहरूले आफ्नै रगतले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेर आन्दोलनमा समर्पित हुने प्रतिबद्धता जनाउने परम्परा थियो। संघले राणाशासनविरुद्ध जनचेतना फैलाउने, विद्यालय सञ्चालन गर्ने तथा सिपमूलक तालिमसमेत सञ्चालन गर्ने कार्य गरेको थियो।
भारतमा रहँदा पनि उहाँले राणा शासनविरुद्धका गतिविधिलाई निरन्तरता दिनुभयो। नेपाल प्रजा परिषद्का बन्दी नेताहरूसँग गोप्य सम्पर्क राख्दै उनीहरूको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउन भूमिका खेल्नुभयो। सन् १९४२ मा भारतको पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा टंकप्रसाद आचार्यलगायतका नेताहरूको नेलसहितको तस्बिर प्रकाशित गराउन उहाँले महत्वपूर्ण सहयोग गर्नुभएको थियो।
वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको माग गर्दै सञ्चालन गरेको आन्दोलनमा पनि पुष्पलाल श्रेष्ठ अग्रपंक्तिमा रहनुभयो। शम्भुराम श्रेष्ठ, साहना प्रधानलगायतका नेताहरूसँग मिलेर उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो। जनदबाबकै कारण तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले केही राजनीतिक सुधारका घोषणा गर्न बाध्य भएको इतिहासमा उल्लेख छ।
नेपालमा संगठित कम्युनिष्ट आन्दोलनको औपचारिक सुरुआत भने वि.सं. २००६ वैशाख १० गते भारतको कोलकातामा भयो। निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गर्नुभयो। भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको वैचारिक सम्पर्कले उहाँलाई मार्क्सवाद–लेनिनवादको अध्ययन र संगठन निर्माणमा थप प्रेरित गरेको बताइन्छ।
नेपालमा समाजवादी तथा साम्यवादी विचारधाराको विस्तारमा उहाँको अर्को ऐतिहासिक योगदान कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र (कम्युनिस्ट मेनिफेस्टो)’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नु हो। नेपाली भाषामा प्रकाशित यो कृतिलाई साम्यवादी विचारधारासम्बन्धी पहिलो महत्वपूर्ण साहित्यका रूपमा लिने गरिन्छ। यसका साथै उहाँले नेपाली समाजको वर्गीय संरचना, राष्ट्रियता, जनवाद र लोकतान्त्रिक आन्दोलनबारे अनेकौँ वैचारिक लेख तथा पुस्तकहरू लेख्नुभएको थियो।
पुष्पलाल श्रेष्ठले राजनीतिक संगठन विस्तारका लागि देशका विभिन्न भूभागमा पुगेर जनतामाझ विचार प्रवाह गर्नुभयो। २०१५ सालको आमनिर्वाचनमा बन्दीपुरबाट उम्मेदवारी दिनुभएको उहाँले २०१७ सालपछि पार्टी विस्तारका लागि पूर्वी पहाडी जिल्लाहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभयो। उहाँले तत्कालीन सोभियत सङ्घमा आयोजित कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनुका साथै चीनको भ्रमण गरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग पनि सम्बन्ध विस्तार गर्नुभएको थियो।
२०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थामाथि हस्तक्षेप गरेपछि पुष्पलाल श्रेष्ठ लामो समय भूमिगत तथा निर्वासित जीवन बिताउन बाध्य हुनुभयो। कठिन परिस्थितिका बीच पनि उहाँले छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी राख्नुभयो र पार्टीको तेस्रो महाधिवेशन सम्पन्न गराई संगठनलाई नयाँ दिशा दिनुभयो।
उहाँको राजनीतिक दृष्टिकोणको महत्वपूर्ण विशेषता लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य थियो। नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक शक्तिहरूसँग संयुक्त संघर्षमार्फत मात्र निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य सम्भव हुने उहाँको धारणा थियो। पछि नेपालको जनआन्दोलन र बहुदलीय लोकतन्त्रको पुनःस्थापनाको क्रममा उहाँका यी विचारहरू अत्यन्त सान्दर्भिक साबित भएका मानिन्छन्।
नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक पथप्रदर्शक पुष्पलाल श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका क्रममा निधन भएको थियो। उहाँको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलनले एक दूरदर्शी नेता गुमाए पनि उहाँले प्रतिपादन गर्नुभएका विचार, संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता आज पनि नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत बनेका छन्।
स्मृति दिवसका अवसरमा आज काठमाडौंसहित देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, विचारगोष्ठी, पुष्पाञ्जली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। नेकपा (एमाले) बागमती प्रदेश कमिटीले राजधानीमा विशेष कार्यक्रम आयोजना गरेको छ भने अन्य कम्युनिष्ट दल तथा सामाजिक संघ–संस्थाहरूले पनि उहाँको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाइरहेका छन्।
रामेछापको माटोमा जन्मिएर नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्ने, ‘कम्युनिष्ट घोषणापत्र’ नेपालीमा अनुवाद गरी वैचारिक चेतनाको दीप प्रज्वलित गर्ने तथा लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिने पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका युगपुरुषका रूपमा आज पनि सम्मानका साथ स्मरण गरिन्छ। उहाँकाे स्मरणमा उहाँकाे जन्मथलाे रामेछापकाे भंगेरीमा पनि आज नेकपा एमाले रामेछापले कार्यक्रम गर्दै छ ।














प्रतिक्रिया दिनुहोस्