जनता टाइम्स

८ श्रावण २०८३, शुक्रबार ०८:०५

एकै रातमा सिङ्गो बस्ती नै बगर बनेपछि दोलखाको लोगटाका १५ परिवार खुला आकाशमुनि 


दोलखा, साउन ८ । बुधबार रातिको अविरल वर्षाले दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्तीका परिवारको जीवन नै तहसनहस बनाइदिएको छ। खारे खोलामा आएको बाढीले तीव्र रूपमा जमिन कटान गर्न थालेपछि वर्षौँदेखि बसोबास गर्दै आएका परिवार एकाएक घर छाड्न बाध्य भएका छन्। अहिले उनीहरू सुरक्षित आश्रयको खोजीमा छन् भने कहाँ र कसरी जीवन बिताउने भन्ने अन्योलमा जीवन गुजारिरहेका छन्।

बस्तीमा रहेका १४–१५ घरमध्ये करिब १० घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन्। बाढीले घरमुनिको जमिन बगाउन थालेपछि पहलबहादुर तामाङ, धनवीर तामाङ र रत्नबहादुर तामाङले आफ्नो घर छाडेर सुरक्षित स्थानमा आश्रय लिनुभएको छ। त्यस्तै बुद्धिमान तामाङ, आरतबहादुर तामाङ र दिनेश तामाङका घर पनि जुनसुकै बेला थप जोखिममा पर्न सक्ने अवस्था रहेकाले तत्काल स्थानान्तरण आवश्यक भएको छ ।

गौरीशङ्कर गाउँपालिका–८ का वडाध्यक्ष दावारेन्जी शेर्पाका अनुसार सशस्त्र प्रहरी बल, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा जोखिममा परेका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको छ। तर ती टहराहरू वर्षमायामा दीर्घकालीन बसोबासका लागि पर्याप्त छैनन्। पीडित परिवार अहिले न्यूनतम आवश्यक सामग्रीसमेत अभावमा कठिन दिन बिताइरहेका छन्।

नदी किनारभन्दा केही माथि रहेका भक्तबहादुर तामाङ, धनबहादुर तामाङ र वीरबहादुर तामाङका घरसमेत उच्च जोखिममा रहेकाले वर्षा हुने बित्तिकै घर छाडेर अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्। घर त अझै उभिएका छन्, तर घरमुनिको जमिन भने दिनप्रतिदिन बग्दै गएको छ। यही त्रासले बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरू सबैभन्दा बढी पीडित बनेका छन्।

बस्तीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष विश्वास कार्कीलगायतको टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ। वडाध्यक्ष शेर्पाले गाउँपालिका र वडा कार्यालयले अस्थायी टहरा निर्माण तथा आवश्यक सहयोगको व्यवस्था गरिरहेको जानकारी दिनुभएको छ। यद्यपि पीडितहरूको आवश्यकता स्थानीय स्रोतसाधनले मात्र पूरा गर्न कठिन देखिएको छ।

हाल अधिकांश विस्थापित परिवार आफन्तको घर तथा अस्थायी टहरामा आश्रित छन्। उनीहरूलाई खाद्यान्न, लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, त्रिपाल, औषधि तथा सुरक्षित आवासको तत्काल आवश्यकता परेको छ।

प्राकृतिक विपत्तिले एकै रातमा उनीहरूको घर मात्र होइन, वर्षौँको दुःख–मेहनतले बनाएको सपना पनि बगाएको छ। यस्तो कठिन घडीमा सरकारी निकाय, सामाजिक संघ–संस्था, सहयोगी मनहरू र देश–विदेशमा रहेका नेपालीबाट मानवीय सहयोगको अपेक्षा गरिएको छ। सानो सहयोगले पनि आज खुला आकाशमुनि बस्न बाध्य बनेका यी परिवारलाई नयाँ आशा र सुरक्षित भविष्यको आधार दिन सक्छ।