काठमाडौं, साउन ९। सनातन वैदिक परम्पराअनुसार भगवान् विष्णुको चारमहिने शयन आरम्भ हुने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। यसै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसी मोठमा सार्ने, विशेष पूजा–आराधना गर्ने तथा चतुर्मासा व्रत प्रारम्भ गर्ने धार्मिक परम्परा रहेको छ।
ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिन्छ। वैदिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिने धार्मिक परम्परा छ।
धर्मशास्त्रविद्का अनुसार असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म योगनिद्रामा रहने धार्मिक विश्वासका कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मासा समेत भनिन्छ, जुन हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक साधना, संयम र उपासनाको समय मानिन्छ।
धार्मिक परम्पराअनुसार वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये सबैमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ। दैनिक कामकाजका कारण लामो समय व्रत बस्न नसक्नेहरूले भने विशेष रूपमा हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। यस दिन चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी, ढिँडो लगायतका सात्त्विक भोजन ग्रहण गर्ने परम्परा रहेको छ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित बूढानीलकण्ठ मन्दिर, उपत्यकाका चार नारायण मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। भक्तजनले भगवान् विष्णुको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरेका छन्।
धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक महत्व पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्। तुलसीले वातावरण शुद्ध बनाउन, हावामा अक्सिजनको मात्रा वृद्धि गर्न तथा विभिन्न रोगका लागि औषधीय गुण प्रदान गर्न सहयोग गर्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। तुलसी रहेको स्थानमा हानिकारक कीटाणु कम हुने तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक र सांस्कृतिक विश्वास पनि रहँदै आएको छ।
चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराउने परम्परा छ। तुलसी–दामोदर विवाहसँगै हवन र पूजाआजासहित चतुर्मासा व्रतको समापन गरिने धार्मिक विधान रहेको छ।














प्रतिक्रिया दिनुहोस्