जनता टाइम्स

७ पुष २०७६, सोमबार ११:४९

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा


खेमराज गौतम / गलकोट

धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सो मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो । अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पताललाई पुग्ने जनाएको छ । अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ ।

सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरलले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिनुभयो । उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा/कोठामा पुर्याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार रु ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र रु ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । ‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो । अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ ।

अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ । ‘रेफर सेन्टर’को रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ । अस्पतालमा यही आर्थिक वर्षदेखि ‘हाई केयर युनिट’ समेत स्थापना गर्न लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले रु ५० लाख बजेट विनियोजनसमेत गर्नुभएको छ । अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।