जनता टाइम्स

१६ श्रावण २०८३, शनिबार ०८:५२

बालिकालाई यौन शोषणमा लगाएको आरोपमा पोखराबाट चार महिला पक्राउ


पोखरा, साउन १६  । कास्की प्रहरीले बालिकालाई यौन शोषणमा लगाएको आरोपमा चार महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा आर्थिक रूपमा कमजोर बालिकालाई प्रलोभनमा पारेर यौन शोषणमा लगाइएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पोखरा–१८ का ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट एक बालिकाको उद्धार गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।