काठमाडौं, साउन २० । होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का र चुरोट सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धूम्रपान तथा हुक्का सेवनमा कडाइ गर्ने निर्णय गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै सार्वजनिक स्थल तथा होटल–रेस्टुरेन्टमा कानुनविपरीत हुने गरी हुने धूम्रपान र हुक्का सेवनलाई नियन्त्रण गर्न अनुगमन कडा पारिने जनाएको छ।
प्रशासनका अनुसार होटल तथा रेस्टुरेन्टमा खुला रूपमा हुक्का र चुरोट सेवन गराउँदा धूम्रपान नगर्ने सेवाग्राही तथा अन्य नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै जनगुनासो बढेपछि यस्तो कदम चालिएको हो।
सूचनाअनुसार अब काठमाडौं जिल्लाभित्रका सबै होटल तथा रेस्टुरेन्टले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमित गर्ने) ऐन, २०६८ को पूर्ण रूपमा पालना गर्नुपर्नेछ।
प्रशासनले धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन, धूम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा सार्वजनिक क्षेत्रमा धुवाँ नपुग्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँगको समन्वयमा होटल तथा रेस्टुरेन्टहरूको नियमित अनुगमन गरिने तथा कानुन उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्