जनता टाइम्स

८ पुष २०७६, मंगलवार ०८:२५

एनआरएनएको बैठक पोखरामा, यी छन एजेण्डा


काठमाडौं, पुस ८ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए,आइसिसि) को बैठक पोखरामा आयोजना गरिने भएको छ । आगामी माघ ४ र ५ गते (२०२० जनवरी १८-१९) गते पोखरामा बैठक बस्ने अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले निर्णय गरेको हो ।

अध्यक्ष कुमारपन्तका अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने छ । उक्त २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सचिवालयको विद्युतिय बैठकले संघको काम कारवाही र लेखा प्रणालीलाई चुस्त र पारदर्शी बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउने समेत निर्णय गरेको छ । साथै उक्त बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।