जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:२७

एनपीएलको तेस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाट खेल्ने भए डिकवेला


काठमाडौं, साउन २९ नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई आगामी तेस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ।

लुम्बिनी लायन्सले सामाजिक सञ्जालमार्फत डिकवेलालाई आगामी सिजनका लागि टोलीमा राखिएको जानकारी दिएको हो। गत सिजन लुम्बिनीलाई उपाधि जिताउन डिकवेलाले महत्त्वपूर्ण योगदान दिएका थिए।

गत सिजन समूह चरणका चार खेलपछि लुम्बिनीसँग जोडिएका डिकवेला टोली संकटमा रहेका बेला आएका थिए। त्यतिबेला लुम्बिनीले तीन खेलमा हार बेहोरेको थियो। डिकवेलाले ६ खेलमा १३७ रन बनाएका थिए। उनको स्ट्राइक रेट १२२ भन्दा बढी थियो।

गत सिजन लुम्बिनीबाट डिकवेलाभन्दा बढी रन बनाउनेमा कप्तान रोहित पौडेलले २७६ तथा डार्सी सर्टले २५६ रन बनाएका थिए।

३३ वर्षीय डिकवेला हाल श्रीलंकामा दम्बुला सिक्सर्सबाट लंका प्रिमियर लिग खेलिरहेका छन्। उनले श्रीलंकाका लागि ५४ टेस्ट, ५५ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

लुम्बिनीले डिकवेलालाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको जनाएको छ।