काठमाडौँ, भदौ २ । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले प्रतिपक्षले सरकारका गलत क्रियाकलापमा कुनै पनि अवस्थामा समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो।
सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्नुभयो। मुलुकमा गुण्डाराज व्याप्त रहेको टिप्पणी गर्दै उहाँले सरकारकै संरक्षणमा त्यस्ता गतिविधि भइरहेको दाबी गर्नुभयो।
प्रतिपक्षले सरकारका गतिविधिबारे प्रश्न उठाउँदा उसलाई नै गुण्डाको संज्ञा दिनु उचित नभएको उहाँको भनाइ थियो।
सांसद खातुनले प्रतिपक्ष सधैँ देश र जनताको हितमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन। हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ।’
आफ्नो सम्बोधनका क्रममा उहाँले सिरहामा प्रहरीले चलाएको गोलीको घटनाबारे पनि सरकारसँग जवाफ माग गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्