काठमाडौँ, भदौ २ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रहरी देखेर नागरिक सुरक्षित महसुस गर्नुपर्नेमा डराउन थालेको अवस्था देखिएको बताउनुभएको छ।
मंगलबार विराटनगरमा आयोजित उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद झाले उद्योगी तथा व्यवसायीलाई अनाहकमा दुःख दिने र आधारहीन रूपमा घरमा छापा मार्ने कार्य गलत भएको बताउनुभयो।
विराटनगरमा उद्योगीका घरमा अनाहकमा छापा मारिएको भन्दै उहाँले यस्ता गतिविधिले निजी क्षेत्रलाई त्रसित बनाएको उल्लेख गर्नुभयो।
‘प्रहरी देखेर सुरक्षित हुनुपर्नेमा मानिसहरू डराउन थालेको अनुभव भएको छ,’ उहाँले भन्नुभयो।
निजी क्षेत्रलाई त्रसित बनाएर लगानीको वातावरण निर्माण गर्न नसकिने उहाँको भनाइ थियो। उद्योगी तथा व्यवसायीलाई हतोत्साहित बनाउने गतिविधि रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो।
आफू राजनीतिज्ञसँगै व्यवसायी पनि रहेको उल्लेख गर्दै झाले व्यवसाय गरे पनि भ्रष्टाचार नगर्ने बताउनुभयो।
कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विराटनगरको आर्थिक गतिविधि कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। विगतमा काठमाडौँलाई समेत आर्थिक क्षेत्रमा पछि पारेको विराटनगर पछिल्लो समय अन्य सहरभन्दा पछि पर्दै गएको उहाँको भनाइ थियो।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पाण्डेले सरकारको भूमिका सबै क्षेत्रमा नियन्त्रण गर्नेभन्दा मार्गदर्शक र अनुगमनकर्ताको हुनुपर्ने बताउनुभयो। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने उहाँको भनाइ थियो।
व्यवसायीमाथिको धरपकडले मुलुकमा ‘पुलिस स्टेट’को झल्को दिन थालेको दाबी गर्दै पाण्डेले राजनीतिक दलका सभापति वा अध्यक्षले एक कार्यकालभन्दा बढी नेतृत्व गर्न नहुने धारणा राख्नुभयो।
त्यस्तै, नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले करिब दुईतिहाइ समर्थन प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो।
युवापुस्ताबाट सरकार बनेको भनिए पनि युवाहरूको अपेक्षाअनुसार रोजगारी र आर्थिक अवसर सिर्जना गर्न नसकेको उहाँको भनाइ थियो। उद्योगी तथा व्यवसायीलाई समेत सुरक्षाको नाममा त्रसित बनाउने काम भइरहेको भुसालले आरोप लगाउनुभयो।














प्रतिक्रिया दिनुहोस्