जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:२६

नेपाल रेडक्रसको जग्गा खरिदमा ठगी आरोपमा पूर्वअध्यक्षसहित ५ जना पक्राउ


काठमाडौँ, भदौ २ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ अनियमितता तथा ठगी गरेको आरोपमा पूर्वअध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुरमा रेडक्रसको गोदामघर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरी अनियमितता गरेको तथा जग्गाको क्षेत्रफलमा समेत ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार २०७३ सालमा भक्तपुर नगरपालिका–४ (क) मा ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने सम्झौता भएको थियो। उक्त जग्गाका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो।

अनुसन्धानका क्रममा बोलपत्रको सर्तविपरीत बिचौलिया अर्थात् मध्यस्थकर्तामार्फत जग्गा खरिद गरिएको र १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले नै लिएको खुलेको सीआईबीले जनाएको छ।

नापी कार्यालय भक्तपुरबाट जग्गा नापजाँच गराउँदा कागजातमा उल्लेख गरिएको क्षेत्रफलभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र जग्गा रहेको पाइएको छ।

मानवीय सेवामा समर्पित संस्थाका पदाधिकारी तथा कर्मचारीले पदको दुरुपयोग गरी रेडक्रसलाई आर्थिक हानि पुर्‍याएको अनुसन्धानबाट देखिएको सीआईबीको भनाइ छ।

पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी हुनुहुन्छ।

भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो।