काठमाडौं, भदौ ३। एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई ११६ रनले पराजित गरेको छ ।
मंगलबार भएको खेलमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो ।
कर्नाटकका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान दुई विकेट लिए भने हेमन्त धामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १८८ रन बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ४९ रन बनाए । इशान पाण्डेले ३४ तथा देव खनाल र सन्दीप जोराले समान २७ रन जोडे ।
नेपालले भारतमा थप एक अभ्यास खेल खेल्नेछ । १० दिनको प्रशिक्षणपछि नेपाली टोली भारतबाटै मलेसिया जानेछ, जहाँ प्रिमियर कपअघि थप तीन दिन अभ्यास गर्ने तालिका छ ।
प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले भदौ १५ गते बहराइनसँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले मलेसिया, साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।














प्रतिक्रिया दिनुहोस्