काठमाडौं, भदौ ३ । कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । नेपाली कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट साउन २९ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । नेकपासँग २१ र एमालेसँग ११ सांसद रहे पनि कांग्रेसका सांसद प्रकाश देउवा लगातार २० वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उहाँको सांसद पद निलम्बन गरिएको छ ।
जेनजी आन्दोलनपछि अमेरिका जानुभएका देउवा त्यसयता प्रदेशसभामा उपस्थित नभएपछि सभामुख भीमबहादुर भण्डारीले मंगलबार उहाँलाई निलम्बन गर्नुभएको हो ।
यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि आजै विश्वासको मत लिन लाग्नुभएको छ । उहाँका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि शाहीले विश्वासको मत लिन लाग्नुभएको हो । तर उहाँले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्नुभएको छैन ।
सत्ता साझेदार एमालेसँग मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्री नियुक्त गर्न ढिलाइ भएको नेताहरूले बताएका छन् । सात मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय लिने विषयमा छलफल भए पनि अन्तिम टुंगो लाग्न सकेको छैन ।














प्रतिक्रिया दिनुहोस्