जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १२:४९

केपी ओली हटाउने कारणचाँहि के हो कमरेड ?



केपी ओलीको गल्ती के हो ? विधि कहाँ मिचियो ? विकल्प को हो ?
डा. सानुमैँया खड्का (सविता)
हामी रहेको भूगोल, जसलाई हामी देश भनिरहेका छांै, अर्थ राजनीतिका हिसाबले त्यो केही समयदेखि सामान्य अवस्थामा छैन । देश खराव सुचकांकले ठूलो आर्थिक दबाबमा छ । युवाको भविष्य अनिश्चित छ । रोजगारीका अवसर सीमित छन् । उत्पादनभन्दा आयातको आकार ठूलो छ । राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदैछ । राजनीतिक दलहरूप्रति वितृष्णा बढाइँदै छ । नेपालको संवेदनशील भूगोलमाथि ठूला शक्तिहरूको रणनीतिक चासो झन् गहिरिँदै गएको छ । सत्तामा रहेका खराव पात्रको शैलीले एउटा सार्वभौम देशको नागरिक भएर पनि हमी आफ्नै देशमा अनागरिक बन्ने अवस्था सिर्जना हुँदैछ ।

नागरिक कर तिर्छ । मत दिन्छ । राज्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छ । बदलामा राज्यबाट उसले खोजेको रोजगारी, सुरक्षा, सम्मान, सुशासन र सबैभन्दा ठूलो कुरा भविष्यप्रतिको भरोसा प्राप्त गर्दैन । विगत र वर्तमानका घटनाक्रमहरूको विश्लेषणले हामी बाँचेको र हामीलाई नेपाली भनेर पहिचान दिएको यो देश यही अवस्थामा सुरक्षित रहन्छ कि रहँदैन ? भन्ने गम्भीर प्रश्न हाम्रा अगाडि उभिएको छ । हाम्रो सार्वभौमिकता, लोकतन्त्र, सामाजिक स्थिरता र भावी पुस्ताको भविष्यको सुरक्षा नै सुनिश्चित नभएको बेला केही मानिसहरू किन नेकपा एमालेका अध्यक्षबाट केपी ओली हट्नुपर्छ भनिरहेका छन । यो बुझन अलि कठिन छ ।

केपी ओली अध्यक्षबाट हट्नुपर्छ भनेर सामाजिक सञ्जालमा रोइलो गरिरहनु भएका कमरेडलाई पनि थाहा छ । सुकुम्वासीदेखि हुकुमबासीसम्म, पत्रकारदेखि कर्मचारीसम्म, सुरक्षा निकायदेखि निजी क्षेत्रसम्म, किसानदेखि व्यवसायीसम्म र विद्यालय जाने बालबालिकादेखि देशको भविष्य बोकेर हिँड्ने युवासम्म सबैलाई देश सङ्कटमा रहेको कुरा थाहा छ । सङ्कटको कारण थाहा छ । सङ्कटसँग जुझ्ने उपाय थाहा छ । यसलाई कसले नेतृत्व दिन सक्छ, त्यो पनि थाहा छ । तर घरलाई एक ढिक्का बनाएर यो सङ्कटसँग जुझ्नु पर्नेमा कमरेडहरू त थप संकट बनेर अध्यक्ष नै हट्नुपर्छ पो भन्न थाल्नु भएको छ ।

अध्यक्ष हट्नुपर्छ भन्ने तपाईको बैधानिक हैसियत के हो कमरेड ?

भूराजनीतिक स्वार्थ पूरा गर्न एल्गोरिदमले नेपाली समाजमा तीन वटा गलत भाष्य स्थापित गर्न खोजेको तथ्य हामीबाट लुकेको छैन । अब बुढाहरूबाट चल्दैन, युवाहरू नेतृत्वमा आउनुपर्छ । कांग्रेस, एमाले र माओवादी पूराना हुन, यीबाट चल्दैन, नयाँले मात्रै मुलुक हाँक्न सक्छन् । विगत ३५ वर्षमा केही भएन, यसको दोष पूराना दलका नेताहरूको हो । जेन्जी विद्रोहको पृष्ठभूमिको तयारी पनि यिनै गलत भाष्यको जगमा भएको थियो । अहिले हामी जे भोगिरहेका र देखिरहेका छौं, यही गलत भाष्यका जगमा बनेको अल्गोरिदम र त्यसले नेपाली जनमतलाई पारेको प्रभावको परिणाम हो ।

पार्टी र त्यसका नेता, कार्यकर्ता पनि त समाजका उपज नै हुन । त्यहाँभित्र पनि यसको प्रभाव गज्जबले पर्यो । यही प्रभावमा निर्वाचनभन्दा अगाडि नै विशेष महाधिवेशन गरेर कांग्रेसले त गगन थापा पनि जन्मायो । एमालेभित्र पनि गगन थापा जन्माउने कोशिस अझै जारी छ । नेकपा अर्थात पूर्वमामाओवादी र एकीकृत समाजवादीभित्र पनि यो प्रयास क्रमशः हुन सक्दछ । यसको कारण बर्तमानमा देखिएको आतङ्क, राजनीतिक आर्थिक गत्यावरोध र भूराजनीतिक चलखेलविरुद्ध दलहरूलाई सङ्गठित हुन नदिन र घरेलु किचलोमा उनीहरूलाई फसाउने नियोजित उद्देश्यभन्दा अरू केही होइन ।

यतिवेला मुलुकमा जुन सरकार छ, त्यसले यति छिट्टै अलोकप्रियताको सगरमाथा चढ्छ भन्ने कसैलाई लागेको थिएन । त्यसले लोकतान्त्रिक संस्थाहरूप्रति यस्तो धावा बोल्छ र यस्तो आतङ्क फैल्याउँछ, भूराजनीतिक स्वार्थको गोटी बनेर देश कमजोर बनाउँछ भन्ने कसैले सोचेको थिएन । तर यो हामीले सोचेजस्तो भएन । जनमत फेरी रिभर्स हुने अवस्था आयो । यस्तो अवस्थामा भूराजनीतिक शक्तिले जनमतलाई रिभर्स हुन नदिन दलभित्र नेतृत्व परिवर्तनको बेमौसमी खेती सुरु गरेका छन । बेमौसममा नेतृत्व परिवर्तनका मुद्दा उठाउनु भनेको यो अराजकता र भूराजनीति चलखेललाई सहयोग गर्नु हो ।

कमरेड, तपाई नेतृत्व परिवर्तनका नाममा बेला न कुबेला अध्यक्षबाट केपी ओली हट्नुपर्छ भनिरहनु भएको छ भने आफ्नो हैसियत बुझन पहिले आफूतिर फर्किएका आफ्नो औंलाहरूले देखाएको मान्छे म को हुँ भनेर चिन्नुहोला । अध्यक्ष हटाउने तपाईंको बैद्यानिक हैसियत थाहा पाउनु होला ।

तपाई हाइज्याकरहरूको एजेन्डा त बोक्दै हुनुहुन्न ?

एउटा संयोग नै मान्नु पर्दछ, केपी ओली प्रधानमन्त्री भएका बेला नेपाली नवयुवाहरूले एउटा विद्रोह गरे । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको फुकुवा र सुशासनका लागि भएको त्यो आन्दोलन ओलीविरोधी आन्दोलन थिएन । तर त्यो आन्दोलनमा हतियारधारी टीओवीलगायतका घुसपैठ आदिका कारण संसद् भवनमा जुन घटना घट्यो । त्यो नहुन पथ्र्यो । त्यसका कारण र परिणामहरू बिस्तारै खुल्दै जालान् । तर भदौ २४ (२०८२) गते देशमा जुन विध्वंस भयो । ज्यानको क्षति भयो । आगजनी भयो । तपाईं यसबारेमा त प्रत्यक्षदर्शी नै हुनुहुन्छ नि, हैन र ?

त्यसपछि नवयुवाहरूको आन्दोलन कसरी हाईज्याक भयो ? त्यसको जानकार पनि तपाई हुनुहुन्छ नि हैन र ? भूराजनीतिक स्वार्थ पूरा गर्न वैदेशिक शक्ति राष्ट्रहरूले स्वदेशी मानिसहरू प्रयोग गरेको तथ्य निकाल्ने तपाई होइन र कमरेड ? त्यही विद्रोहले स्थापित गरेका मान्यता बोकेर आज नेतृत्व परिवर्तन हुनु पर्दछ भन्नु कति नैतिक राजनीति हो कमरेड ? यहाँनेर नवयुवाले गरेको विद्रोहलाई हाईज्याक गर्ने हाईज्याकरहरूको शीर्ष नेतृत्वविरुद्ध त्यसमा पनि ओलीलाई राजनीतिबाट विस्थापित गर्ने एजेन्डा र तपाईंको एजेन्डा मिल्नु संयोग मात्र हो र कमरेड ? अब यो संयोग दिउसोको घाम जतिकै छर्लङ्ग भैसकेको छ, तपाईंको यो बेमौसमी नेतृत्व परिवर्तनको नारा हाइज्याकरहरूले हाम्रो राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामाथि बोलेको धावामाथिको फूयुलिङ हो ।

गोदावरी र भृकुटीमण्डपको महाधिवेशन अवैधानिक हुन त कमरेड ?

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समेत रहेको २०–२२ भदौ २०८२ मा सम्पन्न गोदावरी विधान महाधिवेशनमा दोस्रो कार्यकाल अध्यक्ष बन्ने र ७० बर्षे उमर हद सम्वन्धि वैधानिक व्यवस्था हट्यो । केही मानिसहरूलाई लाग्न सक्दछ, एमालेले केपी शर्मा ओलीलाई तेस्रोपल्ट अध्यक्ष बनाउन विधान समेत संशोधन गरियो । उनी आफू अध्यक्ष बन्नका लागि यो सब गरे भन्ने आरोप लगाएर अध्यक्षबाट हटाउन खोज्ने कुतर्क पनि उठ्न सक्छ । तर दोस्रो कार्यकाल र ७० बर्षे उमेर हदको नियम हटाउँदा तपाई कहाँ हुनुहुन्थ्यो कमरेड ? त्यहाँ तपाईंले एकमतले ताली पिट्नु भएको होइन र ?

जेन्जी विद्रोहपछि मुलुकको अवस्था त तपाईंलाई थाहा नै होला ? तपाईंको हविगत के थियो ? तपाईले कसरी मुन्टो लुकाउनु भएको थियो ? केपी ओलीले गुण्डुबाट गरेको सङ्गठन, ऊर्जा र साहसले तपाईंको पार्टी मात्रै होइन, तपाईंको जीवनलाई समेत पुर्नजीवन दिएको होइन र ?

जेन्जी विद्रोहपछिको पहिलो सचिवालयको बैठकमा ओलीले नेतृत्व छोड्नु पर्ने मतलाई सम्मान गर्दै उहाँ आफैले सयम पूरा नहुदै अर्ली महाधिवेशनको रुपमा ११औँ राष्ट्रिय महाधिवेशन २८–२९ मङ्सिर २०८२ मा भक्तपुरको सल्लाघारीमा उद्घाटन भएर भृकुटीमण्डपमा सम्पन्न भएको होइन र ? अनि ८ महिना पनि पुग्न नपाउँदै फेरि नेतृत्व परिवर्तनको कुरा गर्न तपाईंलाई कति सुहाएको छ हगी कमरेड ? पार्टीभित्रको लोकतान्त्रिक अभ्यास स्वरूप २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएर ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको होइन र ? अध्यक्षलगायत सबै पदमा लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचनमार्फत नेतृत्व चयन भएको होइन र ? तपाईं हामी सबैलाई थाहा नै छ नि कमरेड !

तपाई यो कमिटीको पदाधिकारीमा पर्न केसम्म गर्नु भयो ? महाधिवेशनमा ओली टिमको पदाधिकारी वा सदस्यमा आफ्नो नाम पर्दा आज तपाईंको यो हैसियत कायम भएको तथ्य त स्वीकार्नु हुन्छ होला नि होइन कमरेड ? त्यहाँ नाम नपरेको भए रिङ बाहिर पुग्थें होला भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन कमरेड ? एकपल्ट छातीमा हात राखेर देशलाई भनिदिनुस् न है । तपाईसँग अदभूत क्षमता भएको भए टीम बाहिर रहेर एक्लै निर्वाचन लडन सक्नुहुन्थ्यो नि । त्यसो गर्नु भएको भए नेतृत्व परिवर्तनको तपाईंको फुरफुर सुहाउँथ्यो होला ।

एमालेको ११औँ महाधिवेशनले २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेको र त्यसमा केपी शर्मा ओलीले अध्यक्ष पदमा १ हजार ६ सय ६३ मत अर्थात् ७४.७ प्रतिशत मत प्राप्त गरेर तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको तथ्यलाई पनि आज तपाईंले बिर्सनु भयो नि, कमरेड ? १९ पदाधिकारीमध्ये १७ जना ओली टीमबाट र दुई जना ईश्वर पोखरेल पक्षबाट निर्वाचित भएको तथ्य विर्सिएर आज एकाएक नेतृत्व परिवर्तनको मुद्धा बोक्न सिधै भन्दा अध्यक्षबाट ओली हटाउन तपाईंलाई कुन तत्व र शक्तिले प्रेरित गरियो कमरेड ? तपाई यो भृकुटीमण्डपको महाधिवेशन अवैधानिक हो भन्न सक्नुहुन्छ ?

ओली जसरी निर्वाचित हुनुभयो, उहाँ हट्नुपर्छ भन्ने तपाईं त्यही विधि र प्रक्रियाबाट निर्वाचित भएको हुँदा हट्न तयार हुनुहुन्छ ? त्यहाँसम्म ओली बेठिक, उहाँ हट्नु पर्ने ? तपाईचाँहि कसरी ठीक ?, तपाईंचाँहि किन हट्नु नपर्ने ? जवाफ छ तपाईंसँग भने मेरो प्रश्नको उत्तर दिनु होला ? ओलीलाई अध्यक्षबाट हटाएर आफू आसिन हुने तपाईंको सपना हो भने त्यो तपाईंको तुष्टी मात्रै हो । असन्तुष्टि वा गुटगत आग्रह मात्रै हो । विधिविधान, स्पष्ट राजनीतिक कारण, कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन र बलियो वैधानिक आधार केही होइन ।

निर्वाचनको पराजयका कारण ओली हट्नु पर्ने हो कमरेड ?

निर्वाचनमा हार भयो भने त्यसको सम्पूर्ण दोष एउटै व्यक्तिको टाउकोमा थोपरेर नेतृत्व परिवर्तन हुनुपर्छ भन्नुभएको भए यो कति न्यायोचित हो कमरेड ? निर्वाचन कुनै एक व्यक्तिले मात्रै लड्ने परीक्षा होइन । पार्टीको अध्यक्षदेखि प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, जनसङ्गठनका अध्यक्ष, उम्मेदवार, स्थानीय नेतृत्व र सम्पूर्ण सङ्गठनले सामूहिक रूपमा लड्ने राजनीतिक परीक्षा हो । परिणाम राम्रो आए सामूहिक सफलता र हार भए एउटै व्यक्तिको असफलता भन्न मिल्ने राजनीतिक गणित कहाँबाट सिक्नुभएको हो कमरेड ?

निर्वाचनमा हावा हुन्डरी चलेकै हो । एल्गोरिदम हाबी भएकै हो । सामाजिक सञ्जालको प्रभावमा मतदाता भड्किएकै हुन । नयाँ पुस्ताको मनोविज्ञान बदलिएकै हो । यी सबै निर्वाचन परिणामका राजनीतिक कारण होइनन् र कमरेड ? होइन भने त कमरेडले त निर्वाचन जित्नु पथ्र्योे नि ? तर तपाई त हार्नुभयो । निर्वाचन एमालेले मात्रै हारेको होइन, अरू दलले पनि हारेका छन । यदि निर्वाचनको परिणाम बहुआयामिक कारणले निर्धारण भएको हो भने त्यसको सम्पूर्ण दोष अध्यक्ष ओलीकै टाउकोमा राखेर उहाँकै कारण हारियो भन्ने निष्कर्ष कसरी यति सजिलै निकालियो कमरेड ?

तपाईं आफ्नो जिम्मेवारी पूरा गर्नु हुन्न । क्षेत्रमा सङ्गठन परिचालन गर्नुहुन्न, मतदातासँग सम्बन्ध बनाउन सक्नुहुन्न, स्थानीय मुद्दा उठाउन सक्नुहुन्नु, चुनावी रणनीति बनाउन सक्नुहुन्न ? जो जुन जिम्मेवारीमा छ, आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्न, अनि त्यसको दोष अध्यक्षलाई ?, योचाँहि अलि हजम भएन है कमरेड ।

जिल्लाको अध्यक्ष र पदाधिकारीले आफ्नो जिल्ला जिताउन सकेन भने उसले जिम्मेवारी लिनुपर्दैन ? प्रदेश अध्यक्षको नेतृत्वमा पूरै प्रदेशमा एमाले कमजोर भयो भने प्रदेश नेतृत्वको पनि त समीक्षा गर्नुपर्ला ? जनसङ्गठनको अध्यक्षले आफ्नै सङ्गठनबाट अपेक्षित मत निकाल्न सकेन भने उसले आफ्नो भूमिका मूल्याङ्कन गर्नुपर्दैन ? अनि पार्टीको अध्यक्षले मात्रै सबै परिणामको जिम्मेवारी बोकेर राजीनामा दिनुपर्ने, बाँकी सबै पदाधिकारीले भने आफ्नो पद जोगाएर नेतृत्व परिवर्तनको अभियान चलाउन कति सुहाउँछ ? यो कमरेडको कस्तो जबाफदेहिता हो ?

साँच्चै निर्वाचन हार्नुको मुख्य कारण नेतृत्व हो भन्ने तपाईंहरूको निष्कर्ष हो भने त्यसमा इमानदार राजनीतिक साहस तपाईंहरूले पनि देखाउनु पर्दछ । नेतृत्व परिवर्तन माग्ने अभियानमा लागेका जिल्ला अध्यक्षले भन्नुपर्यो, मेरो जिल्लाको परिणाम कमजोर भयो, त्यसको नैतिक जिम्मेवारी लिँदै म पदबाट राजीनामा दिन्छु । प्रदेश अध्यक्षले भन्नुपर्यो, मेरो प्रदेशमा पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन, त्यसको जिम्मेवारी म लिन्छु । जनसङ्गठनका अध्यक्षले भन्नुपर्यो, मेरो सङ्गठनले पार्टीलाई अपेक्षित मत दिन सकेन, त्यसैले म पनि पद छाड्छु । उम्मेदवारले भन्नुपर्यो, म आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएँ, त्यसको जिम्मेवारी म आफैँ लिन्छु । अनि अरू पदाधिकारीले चाहिँ के भन्ने ? तपाई आफैले निर्णय लिनु होला है कमरेड ।

यदि यो साहस तपाईंहरूले पहिला देखाउनु भयो भने त्यसपछि मात्रै अध्यक्ष ओलीलाई प्रश्न गर्न र औला उठाउन मिल्छ होला है कमरेड । तर यहाँ त अचम्मको राजनीतिक संस्कार देखियो । परिणाम खराब भयो भने अध्यक्ष दोषी, परिणाम राम्रो भयो भने सबैको योगदान । जित्दा सामूहिक नेतृत्व, हार्दा ओलीको नेतृत्व । यो राजनीतिक जबाफदेहिता होइन, यो त सुविधाअनुसार जिम्मेवारीको परिभाषा बदल्ने चरम अवसरवादी गैरराजनीतिक चरित्र र प्रवृत्ति हो, हैन र कमरेड ?

कमरेड, तपाईं उम्मेदवार हुँदा तपाईंको पक्षमा मत माग्ने कार्यकर्ता ओलीले नै परिचालन गरेका थिए र ? तपाईंको चुनावी घोषणापत्र तपाईंले नै बनाउनु भएको थियो होइन र ? तपाईंको क्षेत्रमा सङ्गठन निर्माण गर्ने जिम्मेवारी तपाईं र तपाईंको स्थानीय नेतृत्वकै थियो होइन र ? मतदातासँग संवाद गर्ने काम तपाईंले नै गर्नुभएको थियो हैन र ? अनि परिणाम आएपछि आफ्नो हारको सम्पूर्ण जिम्मेवारी पनि ओलीकै काँधमा राखिदिएर आफूचाहिँ नेतृत्व परिवर्तनको अभियन्ता कसरी बन्न सक्नुभयो कमरेड ?

अध्यक्ष ओली नेतृत्वको पनि समीक्षा हुनुपर्छ । पार्टीले निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको हो भने अध्यक्षसहित सम्पूर्ण नेतृत्वको गम्भीर समीक्षा हुनुपर्छ । नीतिमा कमजोरी थियो कि सङ्गठनमा भनेर बहस गरिनुपर्छ ? उम्मेदवार छनोटमा समस्या थियो कि जनतासँगको सम्बन्धमा थप विश्लेषण गरिनु पर्दछ ? सरकार सञ्चालनमा कमजोरी थियो कि पार्टी सञ्चालनमा प्रश्न उठाउनु पर्दछ ? नयाँ पुस्तालाई आकर्षित गर्न सकिएन कि पूरानो सङ्गठनात्मक शैली परिवर्तन गर्न सकिएन ? यी सबै प्रश्नको निर्मम समीक्षा गर्नुको साटो आफूचाहिँ ठिक अध्यक्षचाहिँ बेठिक कसरी भन्न र लेख्न सक्नुभयो के कमरेड ? तपाईंले त समीक्षाको ठाउँमा आफ्नो स्थानलाई सुरक्षित गर्न खोजेजस्तो देखियो । यो समाज त्यति कुरा बुझन सक्छ भन्ने पनि तपाईंलाई हेक्का रहेन र ?

नेतृत्व परिवर्तन आवश्यक छ, नेतृत्व परिवर्तन अध्यक्षको मात्रै होइन होला नि । त्यही वैधानिक, लोकतान्त्रिक र संस्थागत प्रक्रियाबाट आएको अध्यक्ष हट्नुपर्ने तर तपाईं नपर्ने ? नेतृत्व परिवर्तन पनि त विधि र विधान सम्मत हुन्छ होला नि ? महाधिवेशनको समय कुरेर, आफ्नो कार्यक्रम प्रस्तुत गरेर, प्रतिनिधिहरूको मतबाट नयाँ नेतृत्वको विकल्प दिनुस् न, तपाईंलाई कसले रोकेको छ ? तर निर्वाचनको हारलाई मात्र आधार बनाएर सम्पूर्ण दोष अध्यक्षमाथि थोपर्ने र आफूचाहिँ कुनै जिम्मेवारी नलिने र नेतृत्व परिवर्तनको अभियानको नाममा भएको पद सुरक्षित राख्ने र पद पाउने लोभ हो भने तपाईंको यो अभियान स्वार्थको अभियान हो भनेर बुझ्नेहरूको संख्या पनि यहाँ कमी छैन ।

त्यसैले कमरेड, पहिले आफ्नो अनुहार ऐनामा हेर्नुस् । तपाईं उम्मेदवार हुनुहुन्थ्यो, तपाईं पनि हार्नुभयो । पहिला आफू राजीनामा दिनुस्, त्यसपछि ओलीको राजीनामा माग्नुस् । त्यसवेला मात्रै तपाईंको अभियान ठिक होला, तपाईं नैतिक, राजनीतिक धरातलमा उभिएको ठहर्ला ?

उमेर बढी भएर ओली हट्नु पर्ने हो कमरेड ?

ओलीको उमेर बढी भयो, त्यसैले उहाँ अध्यक्षबाट हट्नु पर्छ भन्ने तर्क पनि सुनिएको छ । कमरेडहरूको यो तर्क गजबको छ । युवा भनेको उमेरको अङ्क मात्रै हो र कमरेड ? युवा हुनु भनेको उमेर कम हुनु मात्र होइन, युवा सोच, सक्रियता, कार्यक्षमता, गतिशीलता, व्यवहार, नयाँ कुरा ग्रहण गर्ने क्षमता र समयसँग चल्न सक्ने राजनीतिक गतिविधि पनि हो । एमालेको वर्तमान पदाधिकारी संरचनालाई हेर्ने हो भने उमेरका हिसाबले मात्र होइन, सक्रियता र राजनीतिक अनुभवका हिसाबले पनि केपी ओलीलाई धेरै पदाधिकारीभन्दा कम युवा भनेर कसरी निष्कर्ष निकाल्ने ? त्यसैले उमेरको अङ्क देखाएर मात्रै अध्यक्ष परिवर्तनको तर्क गर्नु आफैँमा कमजोर तर्क हो ।

प्रश्न ओली कति वर्षको हुनुभयो भन्ने होइन, उहाँले कति काम गर्न सक्नुहुन्छ, कति सक्रिय हुनुहुन्छ, पार्टीलाई कति गतिशील बनाउन सक्नुहुन्छ र देशको जटिल राष्ट्रिय तथा भूराजनीतिक परिस्थितिलाई कति गहिराइका साथ बुझेर नेतृत्व गर्न सक्नुहुन्छ भन्ने हो । एमालेमा नयाँ पुस्ता आउनुपर्छ भन्ने कुरामा कसैको असहमति छैन । तर नयाँ पुस्ता आउनु भनेको पूरानो पुस्तालाई उमेरको आधारमा विस्थापित गर्नु होइन, क्षमता र योग्यताको आधारमा नेतृत्व विकास गर्नु हो ।

त्यसैले ओली बूढो भए भन्ने होइन, ओलीभन्दा सक्षम, सक्रिय, वैचारिक रूपमा स्पष्ट र परिणाम दिन सक्ने विकल्प को हो ? विकल्प छ भने नाम, नीति, कार्यक्रम र परिणामसहित प्रस्तुत भए त भैहाल्यो नि, समय आएपछि । एमालेजस्तो पार्टीलाई आज चाहिएको उमेर होइन, ऊर्जा र हौसला चाहिएको छ । पद होइन, परिणाम चाहिएको छ । गुट होइन, नेतृत्व क्षमता चाहिएको छ । अरुबाट होइन, आफैबाट रुपान्तरणको सुरुवात चाहिएको छ । त्यो केपी शर्मा ओलीसँग छ ।

केपी शर्मा ओलीको तेस्रो कार्यकाल भयो, बाचुञ्जेल अध्यक्ष हुन पाइन्छ ? त्यसैले अध्यक्षबाट हट्नुपर्छ भन्ने तर्क पनि आफैँमा कमजोर छ । आज केपी शर्मा ओली ७४ वर्षको उमेरमा पनि सक्रिय राजनीतिक नेतृत्वमा हुनुहुन्छ । तपाईंलाई थाहा होला नि, क्युबामा फिडेल क्यास्ट्रो ८१ वर्षको उमेरसम्म सर्वोच्च नेतृत्वमा रहे । सिंगापुरका ली क्वान यु ३१ वर्ष प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गरे, जर्मनीकी एन्जेला मर्केल १६ वर्ष चान्सलर भइन् । मलेसियाका महाथिर मोहम्मद ९२ वर्षको उमेरमा जनताको मतबाट पुनः प्रधानमन्त्री बने । उनी यसअघि २२ वर्ष मलेसियाको प्रधानमन्त्री भईसकेका थिए । अमेरिकाका डोनाल्ड ट्रम्प ७८ वर्ष ७ महिनाको उमेरमा दोस्रो पटक राष्ट्रपति राष्ट्रपति बने । उनी ८० वर्ष पुगिसक्दा पनि राष्ट्रपतिको जिम्मेवारीमा छन् ।

कमरेड, उमेरकै आधारमा नेतृत्व अयोग्य हुने हो भने माओ त्सेतुङलाई कसरी हेर्ने ? माओ ८२ वर्षको उमेरमा निधन हुँदासम्म चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता थिए र करिब ३३ वर्ष पार्टीको सर्वोच्च नेतृत्वमा रहे । माओले १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेपछि दशकौंसम्म चीनको राजनीतिक दिशानिर्देश गरे । संसारमा यस्ता थुप्रै उदाहरण छन । त्यसैले कमरेड, राजनीतिमा उमेर आफैमा अयोग्यताको प्रमाण होइन । ७४ वर्षको मानिससँग ४० वर्षको ऊर्जा, अनुभव, निर्णय क्षमता, राजनीतिक सक्रियता र दूरदृष्टि हुन सक्छ ।

४० वर्षको मानिससँग ७० वर्षको सोच, जडता र निष्क्रियता पनि हुन सक्छ । त्यसैले प्रश्न ओली कति वर्षको हुनुभयो ? भन्ने होइन, ओली कति सक्रिय हुनुहुन्छ ?, कति सक्षम हुनुहुन्छ ? र बदलिँदो नेपाल र विश्वको भूराजनीति बुझ्ने क्षमता उहाँमा कति छ ?, पार्टीलाई परिचालन गर्ने क्षमता कति छ ? सङ्कटमा निर्णय लिन सक्ने क्षमता कति छ ? र सबैभन्दा महत्त्वपूर्ण कुरा एमालेको महाधिवेशनले उहाँलाई के म्याण्डेट दिएको छ ? भन्ने हो ।

नयाँ पुस्ता राजनीतिमा आउनु हुँदैन होइन, त्यसैले त एमालेले इतिहासमा ४० वर्ष मुनिका मानिसहरूलाई केन्द्रमा ल्याउन क्लस्टर बनायो र युवाहरू केन्द्रमा पुगे । अनुभवी नेतृत्वलाई जन्म मितिको आधारमा विस्थापित गर्नु पुस्तान्तरण होइन, उमेरको राजनीति हो । पुस्तान्तरण भनेको सक्षम नयाँ पुस्तालाई जिम्मेवारी दिनु, अनुभवी पुस्ताको ज्ञान र अनुभव उपयोग गर्नु र क्षमता भएका व्यक्तिलाई जनादेशका आधारमा अघि बढाउनु हो ।

ओलीभन्दा सक्षम, सक्रिय, वैचारिक रूपमा स्पष्ट र जनताले विश्वास गर्ने विकल्प छ भने अगाडि ल्याऔं, नामसहित, नीतिसहित, कार्यक्रम र विधि विधानसहित । त्यसका लागि त समय आउला नि ? तर उमेरको तर्कले महाधिवेशनबाट निर्वाचित अध्यक्ष हटाउन खोज्नु भनेको राजनीतिक तर्क होइन । हिजो अध्यक्षमा मतदान गर्दा ओलीको उमेर ७४ भन्ने तपाईंलाई थाहा थिएन र ? अहिले रातारात किन यस्तो कुतर्कको लहडमा हिडनुभएको छ ? तपाईं आफैलाई प्रश्न गर्नुस् त कमरेड ।

ओलीको राष्ट्रिय स्वाभिमानको अडानसँग डराउनु भएको हो कमरेड ?

हिजोसम्म केपी ओलीलाई राष्ट्रवादी, विकाशवादी, राष्ट्रिय स्वाभिमानका पक्षधर, राजनेता र देशको हितमा अडान लिन सक्ने नेता भनेर तपाईं आफैँले विभिन्न मञ्चबाट भाषण गर्नुभएको होइन कमरेड ? नाकाबन्दीको समयमा राष्ट्रिय अडान लिँदा ओलीको प्रशंसा गर्ने, नेपालको राष्ट्रिय हित र स्वाभिमानको कुरा गर्दा ताली बजाउने, विदेशी दबाबका अगाडि नझुक्ने नेतृत्व भनेर जनतामाझ प्रस्तुत गर्ने तपाईं नै हो नि, होइन र ? आज अचानक उनै ओलीलाई पार्टीबाट हटाउनुपर्छ भन्ने तपाईको आधार के हो ? ओलीले नेपालको राष्ट्रिय स्वाभिमानको प्रश्नमा दृढ अडान लिनु नै उहाँको अपराध हो भने त्यो अपराध हो भनेर स्पष्ट भन्नुस् ।

ओलीले विदेशी हस्तक्षेप र नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नदिनु त्यसको विरोध गर्नु गल्ती हो भने त्यो गल्ती हो भनेर सार्वजनिक रूपमा बोल्नुस् । ओलीले संवेदनशील सुरक्षा र भूराजनीतिक विषयमा नेपाललाई सैन्य गठबन्धनतर्फ धकेलिन नदिन भूमिका खेलेको, नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितलाई प्राथमिकता दिएको, भारत चीन अमेरिकाजस्ता शक्तिबीच नेपालको स्वतन्त्र निर्णय क्षमतालाई जोगाउने प्रयास गरेकोले आज उहाँलाई हटाउन खोजेको हो भन्नु पर्या नि होइन र कमरेड ?

हिजो ओलीलाई महान् राष्ट्रवादी र विकासवादी नेता भनेर भाषण गर्ने तपाईंलाई, आज उहाँलाई पार्टीबाट हटाउनु पर्छ भन्ने ठाउँमा कुन राजनीतिक शक्तिले धकेल्यो ? कतै तपाईं आफैँ पनि नेपालको जटिल भूराजनीतिक खेलमा कुनै शक्तिको रणनीतिक स्वार्थको गोटी त बनिरहनु भएको छैन ? यो आरोप होइन, प्रश्न हो र आजको नेपालमा यस्तो प्रश्न सोध्ने अधिकार हरेक पार्टी नेता, कार्यकर्तालाई मात्र होइन, हरेक राष्ट्रभक्त नागरिकलाई छ ।

बाह्य हस्तक्षेपको विरोध गर्ने ओली गलत र बाह्य स्वार्थसँग मिल्नेहरू सही भन्ने कुनै राजनीतिक सिद्धान्त हुँदैन । राष्ट्रिय स्वाभिमान कुनै एक व्यक्तिको सम्पत्ति होइन, यो सिङ्गो राष्ट्रको साझा प्रश्न हो । त्यसैले कमरेड, यदि ओलीलाई हटाउने हो भने राष्ट्रवादी अडानका कारण हटाउने हो कि राष्ट्रिय स्वाभिमान त्यागेका कारण ? तपाईलाई विकासवादी नेतृत्व चाहिएको हो भने ओलीभन्दा राम्रो विकासको वैकल्पिक मोडल कहाँ छ ? नयाँ नेतृत्व चाहिएको हो भने त्यो नेतृत्व को हो ? पर्दाभित्र राखिएको नेतृत्वको राष्ट्रिय दृष्टिकोण, आर्थिक कार्यक्रम र भूराजनीतिक नीति के हो ?

अव ओली हटाऊ भन्ने शब्द बिग्रिएको माइकबाट निस्किएको आवाजजस्तो भइसक्यो । यो बजारमा विक्नेवाला छैन । हिजो महान् राष्ट्रवादी र विकासवादी भनेर प्रशंसा गरेको नेतालाई आज अचानक राष्ट्रका लागि अनुपयुक्त भन्ने कारण पनि त जनताले जान्न पाउनुपर्छ । अव जवाफ दिने पालो कमरेडको ।

निष्कर्ष
ओली हट्नु नै पर्छ भन्ने तपाईंको मत हो भने तपाईलाई हाम्रो पनि प्रश्न छ । ओली कुन गल्तीका कारण हट्नु पर्ने हो ? उहाँको कुन निर्णय गलत भयो ? उहाँबाट कुन विधान वा विधि उल्लङ्घन भयो ? नेतृत्व परिवर्तनकै मुद्धालाई सम्वोधन गर्न गरिएको अर्ली महाधिवेशनबाट पाँच बर्षका लागि पाएको म्याण्डेटलाई आठ महिना पनि नपुगी किन औंलो ठडयाउनु भयो ? अनि त्यही महाधिवेशबाट, त्यही विधिबाट निर्वाचित तपाईंचाँहि ठीक अनि ओलीचाँहि वेठिक कसरी हुनुभयो ?

कमरेड, यो पार्टीबाट तपाईंले लिएको लाभ, पाएको पद र प्राप्त अवसरको हिसाब तपाईंलाई नै सबैभन्दा राम्रोसँग थाहा होला । हिजो पार्टी संरचना र सरकार दुवैतर्फ पद र अवसर चाहिँदा ओलीको नेतृत्व चाहियो । आज परिस्थिति फेरिएपछि ओली नै नचाहिने ? प्रश्न एउटै छ, हिजो आवश्यक भएको मान्छे र आज अनावश्यक हुने तपाईंको अवसरवादी चरित्रबाहेक केही होइन । यहाँनेर ‘बा’ फालेको डोकोको कथा स्मरण गर्नुस् । नातीले डोको लिएर आउनोस, मलाई पनि चाहिन्छ भनेर सम्हाल्न खोजेको सत्य पनि नविर्सनुस् नि ।

हाम्रो तमाम पार्टीका सिपाहीहरूको प्रश्न छ तपाईलाई, ओलीको विकल्पचाँहि को हो ? तपाईंले बनाउन खोजेको अध्यक्ष को हो ? केन्द्रीय कार्यालयलाई गुटबन्दीको अखाडामा परिणात गरेर राट्रियताको पक्षमा ओलीलाई दृढतापुर्वक साथ दिने, काममा दृढतापुर्वक खटने राम्रा र योग्य जति सवैलाई समाप्त पार्ने अभियानमा लागेकाहरू त होइनन् ? विकल्प तयार भएको हो भने सार्वजानिक हुन वा गर्न किन डराउनु भएको छ ? नाम त भन्नुस् ।

उसको नीति के हो ? देशको अर्थतन्त्र उठाउने योजना के हो ? नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता जोगाउने भूराजनीतिक रणनीति के हो ? पार्टीलाई जनतासँग पुनः जोड्ने कार्यक्रम के हो ? अर्को अध्यक्ष हुँदा पार्टीले सगरमाथा नै चुम्छ, उधुम जनमत ल्याउँछ ? त्यसको सुनिश्चितता के हो ? यतिपनि हिम्मत छैन भने विकल्पलाई पर्दाभित्र राखेर बर्तमान अध्यक्षलाई धारेहात लगाउनुको के अर्थ छ र कमरेड ? कम्युनिष्ट पार्टीमा त नीति प्रधान हुन्छ होला, तपाईंको नीतिसहितको विकल्प राम्रै भए त ठिकै होला, नभए त कमरेड, तपाईं घर जान हिडनु भएको मान्छे जङ्गल पुगेपछि झसङ्ग हुनुहोला है । बेलैमा सचेत हुनुस् ।