जनता टाइम्स

९ पुष २०७६, बुधबार १५:५६

समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्षम र योग्य जनशक्ति उत्पादन आवश्यक : प्रधानमन्त्री ओली


काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको वताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि हुनुभएका प्रधानमन्त्री ओलीले यस्तो अपेक्षा राख्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने वताउनु भयो ।

‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पुर्याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतामा शिक्षालाई समुदायमा पुर्याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।