जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १७:१५

फूली लगाएपछि आइजीपीलाई सफल बनाउन भावी आइजीपी पोखरेलले गरे यस्तो अठोट


काठमाडौं, बैशाख २९

नेपाल प्रहरीको भावी नेतृत्व सम्हाल्ने गरी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा हुनुभएका बिश्वराज पोखरेलसहित तीन जना डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा पोखरेलसहित तीन डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७६ वैशाख २७ गतेको निर्णयले डिआइजीमा बढुवा हुनुभएका विश्वराज पोखरेल तथा प्राविधिक डिआइजीद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिनुभयो । प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताका साथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा पनि खनालले गर्नुभयो । ‘मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ,’ खनालले भन्नुभयो ।

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने बताउँदै खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो । सांगठानिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै खनालले भन्नुभयो, ‘संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।’

राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उहाँले हरेक व्यावसायिक काम इमानदारिताका साथ ढुक्क भएर काम गर्न सुझाउनु भयो । मानव अधिकार संरक्षण र प्रवर्धनमा विशेष चासो दिएर काम गर्न उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीले विगतमा अवलम्बन गरेका केही कार्यक्रमहरुलाई समेत एकिकृत गर्दै संस्थागत रुपमा लैजान समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन यसको अवधारणा पूर्ण पालना गरी काम गर्नुपर्ने खनालको भनाई थियो । सूचना प्रविधिको समुचित प्रयोग गर्दै सुशासन कायम गर्नका लागि सकारात्मक परिवर्तन आउने गरी हरेक कामको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाका साथ प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै यसलाई संस्थागत रुपमा विकास गर्नुपर्ने पोखरेलको भनाई थियो ।