काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि खोज, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र स्थानीय तहमा समेत सर्वदलीय संयन्त्र गठन गरी उद्धार तथा राहतका काममा परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका सांसद वर्षमान पुनले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता दलहरूले दोहोर्याएको जानकारी दिनुभयो ।
राहत वितरणमा सरकारले एकद्वार प्रणाली अपनाए पनि वास्तविक पीडितसम्म राहत पुग्न नसकेको गुनासो आएको भन्दै स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको उहाँले बताउनुभयो ।
विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई सुरुदेखि नै सहभागी गराउनुपर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको पुनले जानकारी दिनुभयो ।
सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह
बैठकमा नेपाली कांग्रेसले सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ, प्रविधि र विशेषज्ञ टोलीको सहयोग लिन सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य देवराज चालिसेले उपलब्ध स्रोतसाधनबाट प्रयास गर्दागर्दै पनि उद्धार सम्भव नभए प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले कुनै सङ्कोच गर्न नहुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ ।
उहाँले मानव जीवनलाई पहिलो प्राथमिकतामा राखेर सरकार संवेदनशील हुनुपर्ने बताउँदै उद्धारपछि मात्रै राहत र त्यसपछि पुनर्निर्माणको चरणमा जानुपर्ने धारणा राख्नुभयो ।
‘मान्छेको जीवन नै प्रधान हो । उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो–चौथो चरणमा जान्छ,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन । हामीसँग उपलब्ध स्रोत र साधनले गर्न नसकेका विषयमा अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ ।’














प्रतिक्रिया दिनुहोस्