काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ, प्रविधि र विशेषज्ञको सहयोग लिन सरकारसँग आग्रह गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रीय सदस्य देवराज चालिसेले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै भन्नुभयो, ‘मान्छेको जीवन नै प्रधान हो । त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो–चौथो चरणमा जान्छ ।’
सुरुङमा नेपालका उच्च दक्ष इन्जिनियर तथा प्राविधिकहरू फसेको उल्लेख गर्दै उहाँले उनीहरू जीवितै रहेको सम्भावना खोज्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
सरकारले उपलब्ध स्रोतसाधन प्रयोग गरेर प्रयास गर्दागर्दै पनि उद्धार सम्भव नभए प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने चालिसेको भनाइ छ । अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा सरकारले समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले भारतको उत्तराखण्डमा सुरुङमा फसेका मानिसको उद्धार गरिएको उदाहरण दिँदै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्ने बताउनुभयो ।
‘एक्सपर्ट भन्ने कुरा, ज्ञान र विज्ञान भन्ने कुरा, अनुसन्धान भन्ने कुरा राष्ट्रिय सीमा हुँदैन । सबैको सहयोग लिएर गर्ने विषय हो,’ चालिसेले भन्नुभयो ।
तीनै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र त्यसका लागि राजनीतिक दलहरूले सहयोग गर्ने सहमति सर्वदलीय बैठकमा भएको उहाँले जानकारी दिनुभयो ।
विपद्को विषयलाई राजनीतिकरण गर्न नहुने भन्दै चालिसेले पीडित नागरिकको पक्षमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
जलवायोजन्य विपद्का घटना बढ्दै गएको भन्दै उहाँले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई दीर्घकालीन छलफलको विषय बनाएर अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्