काठमाडौं, भदौ १६ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीपहिरोको एक साता बितिसक्दा पनि बेपत्ता आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि घटनास्थलसम्म भौँतारिइरहेका छन् ।
कसैलाई आफ्ना प्रियजन जीवितै भेटिने आशा छ, त कसैलाई कम्तीमा शव भेटिएर अन्तिम संस्कार गर्न पाउने प्रतीक्षा । तर सबैको एउटै प्रश्न छ—‘हाम्रा मान्छे कहाँ छन् ?’
बाढीपहिरोपछि काठमाडौंका अस्पतालहरू घाइतेको उपचारस्थल मात्र बनेका छैनन्, बेपत्ता आफन्त खोज्ने अन्तिम आश्रयस्थलसमेत बनेका छन् । अस्पतालमा उपचाररत घाइते, मृतक तथा पहिचान नखुलेका शवको सूचीमा परिवारजन आफ्ना मान्छेको नाम र अनुहार खोजिरहेका छन् ।
यो विपत्तिले नेपाली परिवारलाई मात्र होइन, भारत, बेलायत र दक्षिण अफ्रिकासम्मका परिवारलाई समेत आफ्ना नागरिकको खोजीमा काठमाडौं ल्याइपुर्याएको छ ।
भारत पश्चिम बंगालका सञ्जय आफ्ना आध्यात्मिक गुरु नबिनानन्द दासको खोजीमा काठमाडौं आउनुभएको छ । दासको नेतृत्वमा १६ जनाको टोली कैलाश मानसरोवर यात्राका लागि नेपाल हुँदै चीनतर्फ गएको थियो । टोलीमा बेलायतका १२ र दक्षिण अफ्रिकाका चार नागरिक थिए ।
भदौ १० गते चिनियाँ अध्यागमन पार गर्ने क्रममा बाढीपहिरो आएपछि टोलीसँग सम्पर्क टुटेको थियो । त्यसयता काठमाडौंका विभिन्न अस्पताल चहार्दा पनि कुनै जानकारी नपाएको सञ्जयको गुनासो छ ।
त्यस्तै, पश्चिम बंगालकै सुदिप्तो थोम त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत आफ्ना भिनाजुको खोजीमा अस्पताल चहारिरहनुभएको छ । भदौ १० गते बिहान करिब ८ बजेर १० मिनेटपछि उहाँसँग सम्पर्क टुटेको थियो । ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिभिल अस्पतालसम्म पुग्दा पनि कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट ४९ जना ल्याइएको थियो । तीमध्ये ३४ जना डिस्चार्ज भएका छन् भने एक जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । तीन जनाको एचडीयू र १० जनाको सामान्य वार्डमा उपचार भइरहेको छ । एक जनाको मृत्यु भएको तथ्याङ्क छ ।
‘सुरुङ मात्रै नहेर्नुस्, पाखापहाडतिर पनि खोजिदिनुस्’
सिन्धुपाल्चोक बलेफी–४ की लक्ष्मी राईका श्रीमान् आङ थोङ तामाङ पनि बाढीपछि बेपत्ता हुनुहुन्छ । सीमावर्ती क्षेत्रमा कन्टेनर चलाउने उहाँ बाढी आएको दिन घटनास्थल आसपासमै हुनुहुन्थ्यो ।
बिहान परिवारसँग कुरा गरेका उहाँको मोबाइल केही समयसम्म बजिरहे पनि त्यसपछि सम्पर्क हुन सकेन । मोबाइल ट्रेसिङमा बिहान ८ बजेर ५२ मिनेटसम्म फोन सक्रिय देखिएको परिवारको भनाइ छ ।
हेलिकोप्टरबाट समेत सम्भावित क्षेत्रमा खोजी गरिए पनि उहाँको अवस्था अझै अज्ञात छ । सात महिनाको बच्चा च्यापेर श्रीमान्को खोजीमा अस्पताल धाइरहेकी लक्ष्मीको आग्रह छ—‘सुरुङ मात्रै नहेर्नुस्, पाखापहाडतिर पनि खोजिदिनुस्।’
उहाँका लागि अहिले आश्वासनभन्दा यकिन सूचना ठूलो भएको छ । श्रीमान् जीवितै भेटिए त्योभन्दा ठूलो खुसी केही हुने छैन । अप्रिय घटना भएको भए पनि कम्तीमा सत्य थाहा पाएर अन्तिम संस्कार गर्न पाउने परिवारको चाहना छ ।
वर्दी फुकालेर दाइको खोजीमा
जुम्लाको पातारासी गाउँपालिका–६ का हरिबहादुर बुढाको पीडा पनि उस्तै छ । अपर त्रिशूली–१ आयोजनामा कार्यरत उहाँका दाइ दीपबहादुर बाढीपछि बेपत्ता हुनुहुन्छ ।
गाउँबाट काम गर्न गएका ११ जनामध्ये तीन जनाको उद्धार भए पनि आठ जना अझै सम्पर्कविहीन छन् । दीपबहादुर तेस्रो सुरुङमा रड बुन्ने काम गर्नुहुन्थ्यो र त्यहाँ काम थालेको दुई महिना मात्रै भएको थियो ।
घटनाको खबर पाएपछि भदौ १३ गते काठमाडौं आइपुग्नुभएका हरिबहादुर सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न सक्नुभएन । त्यसपछि अस्पतालमा दाइको खोजी गरिरहनुभएको छ । नेपाली सेनामा कार्यरत उहाँ अहिले वर्दी फुकालेर आफ्नै दाइको खोजीमा भौँतारिइरहनुभएको छ ।
उहाँको एउटै आशा छ—दाइ चाँडै सम्पर्कमा आउनुहोस् । सास नभेटिए पनि लास भेटिएर अन्तिम संस्कार गर्न पाइयोस् ।
विपत्तिको योभन्दा क्रूर यथार्थ अरू के हुन सक्छ—एउटै परिवार जीवित भेटिने आशा र अन्तिम संस्कार गर्न पाउने चाहनाबीच अड्किएको छ ।
बाढीपहिरोले उद्धारको अर्थसमेत फराकिलो बनाइदिएको छ । भग्नावशेषबाट मानिस निकाल्नु मात्र उद्धार होइन, बेपत्ताको खोजी गर्नु, घाइतेलाई अस्पताल पुर्याउनु, मृतकको पहिचान गर्नु र परिवारलाई यकिन सूचना दिनु पनि उद्धारकै महत्वपूर्ण हिस्सा हो ।
काठमाडौंका अस्पतालका भित्तामा टाँसिएका तस्बिर र पोस्टर अहिले परिवारका अन्तिम आशा बनेका छन् । तर बेपत्ता व्यक्ति अन्तिमपटक कहाँ थिए, कुन सवारीमा थिए, मोबाइलको अन्तिम लोकेसन कहाँ थियो भन्नेसहितको एकीकृत सूचना प्रणाली नहुँदा परिवारजन आफैँ हेलिकोप्टर खोज्ने, पोस्टर टाँस्ने र अस्पताल चहार्ने अवस्थामा पुगेका छन् ।
राज्यले उद्धार र मृत्युको तथ्याङ्क सार्वजनिक गरेर मात्र पुग्दैन । हराइरहेका प्रत्येक व्यक्तिको अवस्था र स्थानबारे परिवारलाई यथाशीघ्र यकिन सूचना दिन सक्नु पनि विपद् व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी हो ।
अस्पतालका ढोकामा आस बोकेर उभिएका सञ्जय, सुदिप्तो, लक्ष्मी र हरिबहादुरहरूको एउटै प्रश्न छ—‘हाम्रा मान्छे कहाँ छन् ?’
यो प्रश्नको जवाफ जति छिटो आउँछ, विपत्तिको घाउ बोकेका परिवारका लागि त्यति नै ठूलो मल्हम हुनेछ ।














प्रतिक्रिया दिनुहोस्