काठमाडौं, भदौ १८ । बाढी र हिलोले पुरिएका सुरुङबाट मानिसको उद्धार गर्न विश्वमै तत्काल प्रयोग गर्न सकिने प्रविधि र विशेषज्ञता नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दाबीमाथि विज्ञहरूले प्रश्न उठाएका छन्।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले अहिलेको अवस्था सामान्य पहिरोले सुरुङ पुरिएकोभन्दा फरक रहेको र हिलो तथा माटोले पूर्ण रूपमा भरिएका सुरुङबाट उद्धार गर्न विश्वमै तत्काल प्रयोग गर्न सकिने प्रविधि तथा पर्याप्त विशेषज्ञता नभएको बताउनुभएको थियो।
तर, इन्जिनियर तथा सुरुङ विज्ञहरूले प्रधानमन्त्रीको उक्त दाबी तथ्यसंगत नभएको बताएका छन्।
उनीहरूका अनुसार हिलो र ढुंगाले पुरिएको सुरुङबाट उद्धार जटिल र समय लाग्ने भए पनि विश्वका विभिन्न मुलुकमा यस्तै प्रकृतिका दुर्घटनामा आधुनिक प्रविधि प्रयोग गरेर सफल उद्धार भइसकेको छ।
इन्जिनियरिङ जियोलोजिस्ट सुवासचन्द्र सुनुवारका अनुसार चिलिमे तथा माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा ठूलो मात्रामा हिलो र ढुंगा भरिएकाले उद्धारमा समय लाग्नु स्वाभाविक हो। तर, त्यसका लागि विश्वमा वैकल्पिक प्रविधि र उपकरण उपलब्ध रहेको उहाँ बताउनुहुन्छ।
उहाँले सन् २०१२ मा पेरुमा सुरुङभित्र फसेका नौ जना श्रमिकलाई मुख्य सुरुङबाट उद्धार गर्न सम्भव नभएपछि माथिबाट सानो बोरिङ मेसिन प्रयोग गरेर उद्धार गरिएको उदाहरण दिनुभयो।
भारतमा समेत हिमताल विस्फोटपछि बाढीले पुरिएका सुरुङबाट सफल उद्धार भएको उहाँले बताउनुभयो। सन् २०२१ मा तपोवन जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकमध्ये १२ जनाको उद्धार भएको थियो। त्यस्तै, सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ श्रमिकलाई ठाडो ड्रिलिङ, तेर्सो पाइप ज्याकिङ र अन्तिम चरणमा ‘र्याट होल’ प्रविधिको प्रयोग गरी उद्धार गरिएको थियो।
सुनुवारका अनुसार चीनसँग मोबाइल डिवाटरिङ पम्प, माइक्रो टीबीएमलगायत सुरुङ उद्धारका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध छन्।
उहाँले सरकारले आफ्नै स्रोतसाधनबाट मात्र उद्धार सम्भव नभए स्वदेश तथा विदेशका निजी क्षेत्र, विज्ञ र प्राविधिक टोलीलाई तत्काल परिचालन गर्नुपर्ने बताउनुभयो।
‘सरकारले यस्तो काम गर्न नसकेपछि निजी उत्पादक तथा विशेषज्ञलाई तत्काल बोलाएर प्लान बीमा जानुपर्थ्यो,’ उहाँको भनाइ छ, ‘हरेक आयोजनाका लागि फरक–फरक रणनीति हुन सक्थ्यो।’
फिल्डमै उद्धार कार्यमा खटिनुभएका जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताउनुभयो।
उहाँका अनुसार सुरुङमा हिलो कसरी भरियो भन्ने अवस्था फरक भए पनि हिलोले भरिएको सुरुङबाट उद्धार गर्ने प्रविधि विश्वमा उपलब्ध छ।
‘प्रधानमन्त्रीले बिलकुल गलत बोल्नुभयो,’ उहाँले भन्नुभयो, ‘सुरुङमा कसरी हिलो भरियो भन्ने पो फरक हो, हिलो भरिएको सुरुङबाट उद्धार गर्ने काम त संसारभरि एउटै हो। त्यसका लागि विशेषज्ञता र प्रविधि दुवै उपलब्ध छन्।’
आधुनिक उपकरण प्रयोग गर्न सके उद्धार प्रक्रिया छिटो बनाउन सकिने उहाँ बताउनुहुन्छ। सुरुङभित्र एक्स्काभेटर लैजान नसकिने भए पनि सुरुङको मुख तथा पहुँच मार्ग खुलाउन बाहिरबाट धेरै उपकरण परिचालन गर्न सकिने उहाँको भनाइ छ।
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले संसारका हरेक इन्जिनियरिङ समस्याको समाधान खोज्ने प्रविधि र विशेषज्ञता रहेको बताउनुभयो।
प्रधानमन्त्रीले विश्वमै सुरुङ उद्धारको विशेषज्ञता नभएको र अनुकूल अवस्था आएपछि मात्र उद्धार गर्न सकिने आशय व्यक्त गर्नु ‘गलत र गैरजिम्मेवार’ भएको उहाँको आरोप छ।
उद्धारमा ढिलाइ भएको भन्दै बरालले सरकारमाथि प्रश्न उठाउनुभयो। बाढी आएको दिनदेखि नै नेपाल तथा विदेशमा रहेका विज्ञ र उपकरण प्रयोग गरेर उद्धार सुरु गर्न आफूहरूले पहल गरे पनि सरकारले नसुनेको उहाँको दाबी छ।
लाङटाङ जलविद्युत् आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले पनि नेपालका लागि यस्तो प्रविधि नयाँ हुन सक्ने भए पनि विश्वमै यस्तो प्रविधि नभएको भन्न नमिल्ने बताउनुभयो।
उहाँका अनुसार आफ्नो प्राविधिक टोली र नेपाली सेनाको सहकार्यमा पेनस्टक पाइप काटेर सुरुङमा फसेका कामदारसम्म पुग्ने बाटो तयार पारिएको छ। उक्त आयोजनाको सुरुङमा करिब २५ जना कामदार फसेको अनुमान गरिएको छ।
विज्ञहरूको निष्कर्ष एउटै छ—उद्धार कठिन छ, तर असम्भव होइन। उनीहरूका अनुसार अहिलेको प्राथमिकता दोषारोपणभन्दा उपलब्ध अन्तर्राष्ट्रिय प्रविधि, विशेषज्ञता र उपकरण तत्काल परिचालन गरी सुरुङमा फसेकाहरूको उद्धार गर्नु हो।














प्रतिक्रिया दिनुहोस्