जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:१९

भोटेकोशी बाढी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन


काठमाडौं, असोज ५ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राख्नुभएको विशेष समिति गठनसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको हो।

समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव तथा रसुवाको भोटेकोशी बाढीको अध्ययन गर्ने कार्यादेश दिइएको छ। त्यस्तै, बाढी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशाबारे सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, डा. धनञ्जय रेग्मी, ध्रुववराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहनुभएको छ।

समितिले हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा आएको परिवर्तन र जोखिमसम्बन्धी तथ्यांकको समीक्षा गर्नेछ। साथै, विपद् तथा जलवायु जोखिमसम्बन्धी अनुसन्धान प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक उपायबारे पनि समितिले सिफारिस गर्नेछ।

सभामुख अर्यालका अनुसार समितिको कार्यअवधि पहिलो बैठक बसेको मितिले तीन महिना रहनेछ।