काठमाडौं, पुष १८
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सेनाको विशेष दस्ता कुद्सका प्रमुख जर्नेल कासिम सुलेमानी मारिएको बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले इराकको बग्दाद विमानस्थलमा राष्ट्रपति ट्रम्पकै निर्देशनमा शुक्रबार आक्रमण गरिएको बताएको छ। शुक्रबार बग्दाद विमानस्थलमा भएको आक्रमणमा सुलेमानीसहित इराकी मिलिसिया कमाण्डर अबु अल महदी मुहान्दिस र केही व्यक्ति मारिएका थिए।
आक्रमणको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी झन्डा ट्वीट गरेका थिए। रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपतिकै निर्देशनमा अमेरिकी सेनाले रक्षात्मक कारबाही गरेको हो। कासिम सुलेमानीलाई मारेर अमेरिकी सेनाले विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षा गरेको छ।’
‘इरानले बनाएको आक्रमणको योजनालाई विफल पार्न यो आक्रमण गरिएको हो,’ अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘अमेरिकाले आफ्ना नागरिक र आफ्ना चासोको विषयको विश्वभर रक्षा गरिरहनेछ।’
डेमोक्रेटिक पार्टीका सिनेटर क्रिस मर्फीले सुलेमानी अमेरिकाको दुस्मन भएको बताउँदै उनको मृत्युले अमेरिकी नागरिकमाथि खतरा बढेको प्रतिक्रिया दिएका छन्। ‘अमेरिकी नागरिकलाई क्षति नपुगेसम्म हामीले सामान्यतया विदेशी राजनीतिक अधिकारीहरुको ‘हत्या’ गर्दैनौँ,’ उनले ट्वीटमा भनेका छन्।संयुक्त राष्ट्र संघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीले ‘शान्ति र न्याय’ खोज्नेहरु सुलेमानीको मृत्युमा खुसी हुनुपर्ने प्रतिक्रिया दिएकी छिन्।
यता, इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले इरानी कुद्स बलका प्रमुख कासिम सुलेमानीको हत्या ‘एउटा खतरनाक र मूर्खतापूर्ण घटना’ भएको प्रतिक्रिया दिएका छन्।अमेरिकाले आफ्नो दुष्ट साहसिक कदमको सबै परिणामको भागिदार बन्नुपर्छ,’ विदेशमन्त्री जरिफले ट्वीटमा भनेका छन्।
कुद्स फौज
कुद्स फोर्स इरानको रिभोल्यूशनरी गार्ड्सको एउटा शाखाका रुपमा काम गर्दछ। जसले देशबाहिरको अभियानमा काम गर्ने र यसका प्रमुख जनरल कासिम सुलेमानी इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीप्रति जवाफदेही भएको बताइन्छ। उनी सन् १९९८ देखि इरानी सेनाको विशेष दस्तामा सक्रिय रहेका छन्। उनी सन् १९८० को दशकमा इराकसँगको युद्धमा पनि सहभागी थिए।
सन् २००३ मा अमेरिकी सेनाको नेतृत्वमा भएको आक्रमणपछि इराकमा सद्दाम हुसेनको सत्ता समाप्त भएको थियो। त्यसपछि मध्यपूर्वमा कुद्स फौजले आफ्नो सक्रियता बढाएको थियो। इरानलाई समर्थन गर्ने दोस्रो देशका सरकार विरोधी समूहलाई कुद्स फौजले हतियार उपलब्ध गराउने तथा पैसा र तालिम दिने अभियानलाई यसले तीव्रता दियो।
प्रतिक्रिया दिनुहोस्