जनता टाइम्स

२१ पुष २०७६, सोमबार १९:०४

अमेरिकाप्रति सोलेमानीकी छोरीको आक्रोश : पागल ट्रम्प मेरो बुवाको शहादतसँगै सबै समाप्त भयो भनेर नसोच !


तेहरान, पुस २१ । अमेरिकी सेनाको आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीकी छोरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी सेनालाई कडा धम्की दिएकी छन । आफ्नो बाबुको अन्त्येष्टिमा उपस्थित विशाल जनप्रदर्शनबीच सुलेमानकी छोरी जेइनप ‘मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीलाई जिवित नछाडने अठोट गरेकी हुन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार सोलेमानीलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी हजारौं मानिसबीच यस्तो धम्की दिएकी हुन । सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी छन । ‘मध्यपूर्वमा रहेका अमेरिकी सेनाका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाइमा समय बिताइरहनेछन,’ उनले भनिन । शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने उदघोष पनि गरेकी थिइन । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पागलको संज्ञा दिँदै बाबुको हत्याको बदला लिने अठोट समेत गरेकी छन । ‘पागल ट्रम्प ! मेरो बुवाको शहादतसँगै सबै समाप्त भयो भनेर नसोच !’

इरानी कमाण्डर सोलेमानी गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलामा मारिएका थिए । सोलेमानीको अन्त्येष्टिको क्रममा इरानी सर्वोच्च नेता अयातोल्याह अली खमेनीले त आँशु नै झारेका थिए । तेहरानस्थित सोलेमानीको अन्त्येष्टिको दोस्रो दिन तेहरानमा भेला भएका दशौं हजार मानिसको बीचमा खमेनी रोएका हुन ।

यससँगै इरान र अमेरिकाबीच तनाव चर्किदै गएको छ । इरानले २०१५ को आणविक सम्झौताबाट पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदै आएको छ । अमेरिकाले पनि इरानले आक्रमण गरेको खण्डमा आफूले जवाफ दिने भन्दै ५२ स्थानलाई निशाना बनाएको बताएको छ । इरानले ट्रम्पको टाउकोको मुल्य तोक्दै टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले अमेरिकालाई तारो बनाए नसोचेको प्रतिबन्धको सामना गर्नुपर्ने बताएका छन ।