जनता टाइम्स

२२ पुष २०७६, मंगलवार ०९:०३

अस्ट्रेलियामा वर्षा : आगलागी प्रभावितलाई राहत (भिडियोसहित)


काठमाडौं, पस २२ ।  अस्ट्रेलियाको जङ्गलमा लागेको आगोलाई लिएर पूरै विश्वमा आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड चलिरहेको छ ।

विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् । यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरे । वर्षापछि तापक्रम केही घटेको छ । आगलागीकै कारण अस्ट्रेलियाको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।

सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वका सबै ठूला शहरमध्ये सबैभन्दा खराब देखाएको थियो । अस्ट्रेलियाको गृह मन्त्रालयले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिएको थियो ।

न्यु साउथ वेल्स ग्रामीण अग्नी सेवाका कमिस्नर शेन फिट्जसिमन्सले वर्षाका कारण अग्निशमन विभाग, आपतकालीन सेवाकर्मी र आगलागीबाट प्रभावित मानिसहरुमा राहत भएको बताए । तर यसले आगो नियन्त्रणमा लिन रणनीतिक र प्राविधिक हिसाबमा चुनौती पनि भएको छ । न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिकेलियनले यही दौरान दुई जना मानिस बेपत्ता भएको बताए ।

आगलागीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निकै आलोचना भोग्दै आइरहेका छन् । देशमा आगो लगिरहँदा उनी सपरिवार छुट्टी मनाउन विदेश गएका थिए । निकै आलोचना भएपछि उनले पछि माफी पनि मागेका थिए । यही कारण प्रधानमन्त्री मोरिसनले भारत भ्रमण पनि रद्द गर्नुपरेको थियो ।

प्रधानमन्त्री मोरिसनले आगलागीबाट प्रभावितका लागि नेशनल बुशफायर एजेन्सीमार्फत दुई अर्ब अस्ट्रेलियाली डलर बराबर खर्च गर्न बताएका छन् ।