जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १६:५१

इरानी नेता सुलेमानीको शवयात्रामा भागदौड मच्चियो, कम्तीमा ३५ को जनाको मृत्यु, सयौं घाइते


काठमाडौं, पुस २२ । अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा अन्तिम संस्कारमा लाखौँ मानिसहरू सहभागी भइरहेको बेला भागदौड मच्चिएको हो ।

आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन । इरानी सञ्चार माध्यमका अनुसार भागदौडमा सैयौं मानिसहरू घाइते भएका छन । अमेरिकी आक्रमणमा उनको हत्या भएपछि इरानले बदला लिने घोषणा गरिसकेको छ । केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो ।

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ । सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो । तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो ।