जनता टाइम्स

२८ पुष २०७६, सोमबार ०७:४८

मौसम पूर्वानुमान : आगामी २४ घण्टा तराईमा हुस्सु/कुहिरो लाग्ने, चिसो बढने भन्दै सतर्कता अपनाउन सुझाव


काठमाडौं, पुस २८ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको उपत्यका तथा तराईका भू–भागमा कुहिरो÷हुस्सु लागेको छ ।

आगामी २४ घण्टामा तराईका भू–भागमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानमा राम्रोसँग घाम नलाग्ने हुँदा चिसो नै रहने जनाएको छ । आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा तराईमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ ।

आज राति पश्चिमी भूभागमा बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ । यस्तै मंगलबार दिउँसो पश्चिमी भू–भागमा सामान्य बदली भई अन्य पहाडी भागमा आंशिक बदली रहनेछ भने पश्चिमी भागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने सम्भावना छ ।

मंगलबार राति पश्चिमी भागमा सामान्य बदली भई अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने सम्भावना छ । बुधबार दिउँसो पश्चिमी भागमा बदली भई अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने सम्भावना छ । बुधबार राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।