जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार ०९:५५

बाढीले तीन घर विस्थापित


गलकोट, बैशाख ३१

सोमबार साँझ परेको भारी वर्षाका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा तीन घरमा ठूलो क्षति पुर्याएको छ । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा बाढी पसेका कारण पनि क्षति पुगेको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिनुभयो । घ्वाङ्गखोलाको भलसहित आएको बाढीले घरमा क्षति पु¥याउँदा बस्नै नमिल्ने गरी क्षति पुर्याएको हो ।

विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । माथिबाट आएको बाढीका कारण झण्डै दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताउनुभएको छ । करीब एक घण्टासम्म आएको भारी वर्षाका कारण स्थानीय त्रसित भएका थिए ।