जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०८:२५

रोग निको पार्ने भन्दै पाष्टरले गरे पटक पटक बलात्कार


ललितपुर, पुस २९ । जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टर पक्राउ परेका छन । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले जवरजस्ती करणी अभियोगमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई सोमबार साँझ पक्राउ गरिएको हो । चर्चमा नियमित आइरहने एक महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिएसपी तामाङले बताउनु भयो ।

प्रहरीका अनुसार पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए । पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख छ ।

उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ । तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ । पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनाएको छ ।