प्रवाससमाचारसमाज

दाउदको लगानी काठमाडौंमा ! नेता समेत पार्टनरसिप रहेको भारतीय संचारमाध्यमको दाबी

काठमाडौं, माघ २

अन्डरवर्ल्ड डन दाउद इब्राहिमको ठुलो लगानी काठमाडौंमा रहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन् । कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडा पटनाबाट पक्राउ परेपछि उनिहरुले सो दावी गरेका हुन् ।

मुम्बई प्रहरीको सोधपुछमा उनले यस्तो बताएको समाचारमा उल्लेख गरेका छन् । भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा जनाइए अनुसार नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेको दावी गरेको छ ।

त्यस्तै भारतीय अनलाइन प्रभाव खबरका अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ । सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ । तर समाचारमा कम्पनीको नामबारे भने उल्लेख गरिएको छैन ।

कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि पार्टनरशिप रहेको दाबी समाचारमा गरिएको छ । तर कुन कुन नेताको पार्टनरशिप छ भन्नेबारे भने कुरा कतैपनि उल्लेख गरिएको छैन ।

दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र उक्त कारोबार मुख्य रुपमा लकडाले नै हेर्ने गरेको उनले भारतीय प्रहरीलाई दिएको वयानमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । क्यानडापछि दाउदले आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको समाचारमा दाबी गरिएको छ ।

काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने दाबी समाचारमा गरिएको छ ।

Comment here