जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार ११:१५

हुरीले छाने उडाएपछि एक महीनादेखि खुला आकाशमुनि पठनपाठन


गलकोट, बैशाख ३१

बागलुङ जिल्लाको जैमिनी नगरपालिका-५, विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा पछिल्लो एक महिनादेखि पठनपाठन प्रभावित भएको छ। यही बैसाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुई कोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ ।

पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताउनुभयो । ‘विद्यालयको छाना उडाएको महिना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौँ,’ प्रधानाध्यापक विकले भन्नुभयो, हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा इकाइ कतैबाट सहयोग भएको छैन ।’

विद्यालयको दुई कोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले जानकारी दिनुभयो । उहाँले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको हो।

नगरस्तरीय विपद् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । हावाहुरीले २ र ३ कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठाको छानो उडाएको हो ।

विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाशमुनि, बाल विकास भवनको बार्दली र कहिले दुई कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षिका दीक्षा शर्माले गुनासो गर्नुभयो । हावाहुरीले उडाएको कक्षाकोठासँगैको एक कोठे भवनसमेत भूकम्पले चिरा पारेका कारण जोखिम मोलेर अध्ययन र अध्यापन गराउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।

बाल विकास देखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन्। विद्यालयमा अधिकांश दलित विद्यार्थी छन्।