जनता टाइम्स

६ माघ २०७६, सोमबार १२:३३

स्वास्थ्य केन्द्रमा औषधि अभाव, पटक–पटक जानकारी गराउँदा पनि व्यवस्था हुन सकेन


तनहुँ, माघ ६

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव भएको छ । केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य भएका छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । सो केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो ।

आर्थिक वर्ष ०७५/७६ अगाडिदेखि नै औषधि अभाव थियो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि औषधिको व्यवस्था हुन सकेको छैन ।” केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट टेन्डर भएर औषधि दाखिला प्रक्रियामा रहेको जानकारी दिइयो । केही दिनमै औषधिको व्यवस्था हुने आश्वासन पाएको उहाँले जानकारी दिनुभयो ।

निःशुल्क रुपमा स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात् बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नु परेको छ । आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको सङ्ख्या शून्य रहेको कार्यालय प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । कार्यालयबाट प्रदान गरिने सेवासुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ । उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या कम्तीमा ५० पुर्याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ बिरामी उपचारको लागि आउने गरेका छन् ।”

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेक ताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उहाँले दाबी गर्नुभयो । उहाँले स्रोतसाधनको कमीका कारण सोचेअनुरुप सेवा दिन नसके पनि कार्यालयमा योगाभ्यास गराउने, चिन्तासहित समाज बनाउन सोही किसिमको परामर्श सेवा दिने गरेको डा.् मण्डलले बताउनुभयो । विभिन्न सफल विधिबाट उपचार थालिएको सो केन्द्रले छ ।

उक्त स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नसा, छाला, पायल्सलगायत समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् । प्रदेश सरकारले शल्यक्रिया कक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको रु नौ लाखबाट सामान खरिद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको डा मण्डलले जानकारी दिनुभयो । सबै क्षेत्रको साथ र सहयोग पाएमा यसलाई गण्डकी प्रदेशकै नमूना आयुर्वेद स्वास्थ्य केन्द्र बनाउने योजना रहेको उहाँले बताउनुभयो ।