जनता टाइम्स

७ माघ २०७६, मंगलवार १४:२५

महानगरपालिकाको सहयोगमा छाउनीमा हेमोडाईलासिस सेवा सुरु


काठमाडौं, माघ ७

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि सेवा प्रवाहको सुरुवात भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज श्री विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको सुभारम्भ गर्नुभयो ।

सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौँ महानगरपालिकाले केही महिना अघि मात्रै विरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई रु दुई करोड दिने सम्झौता गरेको थियो ।

त्यसैगरी नेपाली सेनासँग पनि महानगरपालिकाले गत पुस २ गते हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि रु तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप आजबाट सेवाको सुभारम्भ भएको हो । सेवाको सुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले महानगरपालिकाकै सहयोगमा एम्वुलेन्स सेवासँग सहकार्य गरी एम्वुलेन्स सेवा सञ्चालन गरेको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने बताउनुभयो । मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रष्ट पार्नुभयो ।

‘विरामी भएपछि उपचार गर्नका लागि मात्रै होइन विरामी हुनु भन्दा अघि नै गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ मेयर शाक्यले भन्नुभयो, ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छु ।’ अस्पतालमै पुगेर मेयर शाक्यले विरामीको हेमोडाइलसिस सेवा सुरभारम्भ गरेपछि पहिलो सेवा लिनु भएकी महर्जनले खुशी व्यक्त गर्नुभयो ।

‘विरामीको उपचारका लागि महानगरपालिकाले गरेको यो सहयोगले आभारी छु,’ महर्जनले भन्नुभयो, ‘सेवा विस्तारका लागि महानगरपालिकाले अझै थप सहयोग गरोस् हामी जस्ता विरामीलाई धेरै राहत हुने छ । यो महानगरले गरेको उदाहरणीय काम हो ।’ मेयर शाक्यले पनि उहाँको प्रतिक्रियापछि स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन महानगरपालिकाले हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि थप आवश्यक रकम विनियोजन गर्न तयार रहेको प्रतिक्रिया दिनुभयो ।

सम्झौतापत्र अनुसार नै नेपाली सेना अन्तर्गतको श्री वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ । जनशक्ति र उपकरण थप गरी सिफ्ट पनि थप भएपछि प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिने अस्पतालले जानकारी दिएको छ । सम्झौतापत्रमा उल्लेख भए अनुसार नै भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने छ । विरामीले हेमोडाईलासिस सेवा लिनका लागि सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने छ ।

सम्झौतापत्रमा सम्झौता कार्यान्वयन गर्ने क्रममा मृगौला रोग तथा अन्य रोगहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा महानगरबासीहरु, सञ्चार माध्यम, सम्बन्धित संघ–संस्थाहरुमा सेवा सम्बन्धी आवश्यक सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दुबै पक्षको हुने उल्ल्ेख छ । सम्झौताको अवधी सम्झौता भएको मितिले पाँच बर्षको हुने उल्लेख छ भने दुबै पक्षको आपसी समझदारीमा भने सम्झौताको म्याद थप हुन सक्ने पनि उल्लेख छ ।

सेवा सुभारम्भ गर्ने क्रममा वडा नम्बर–१५ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगाल, काठमाडौँ महानगरपालिका सहरी योजना आयागका सदस्यहरु गुजेश्वरी श्रेष्ठ, सजिव शाक्य, काठमाडौँ महानगर पालिका स्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्र विलास बज्राचाय, सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, अस्पतालका निमित्त कमाण्डर नागेन्द्रबहादुर केसी, श्री विरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारीलगायत हुनुथ्यो ।