जनता टाइम्स

८ माघ २०७६, बुधबार ११:१२

ट्रम्पविरुद्ध महाभियोग : रिपब्लिकनको बहुमत रहेको सिनेटमा सुनुवाइ सुरु


वाशिंगटन, माघ ८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमा माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटको सुनुवाइमा बहुमत प्राप्त रिपब्लिकन पार्टीले प्रमुख प्रमाण तथा साक्षीलाई रोक्न चाहेको विपक्षी दल डेमोक्र्याट्सले आरोप लगाएको छ ।

डेमोक्र्याट नेता एडम शिफले महाभियोग प्रक्रिया निष्पक्ष नहुने सम्भावना रहेको बताए, ‘अधिकांश अमेरिकी नागरिकलाई लाग्छ कि सुनुवाइ निष्पक्ष हुँदैन । सिनेटले निष्पक्ष रुपमा सुनुवाइ गर्ला भन्ने धेरैलाई लाग्दैन । उनीहरुलाई लाग्छ परिणाम पहिले नै तय भएको छ ।’ रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले जतिसक्दो चाँडो सुनुवाइ सकाउन चाहेको पनि उनले आरोप लगाए । राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसद सुनुवाइको अवधि कम गर्न निरन्तर लागिरहेका छन् । ट्रम्पको कानुनी टिमले यो सुनुवाइ अमेरिकी संविधानसँगको खेलवाड भएको बताएका छन् ।

ट्रम्पमाथि व्यक्तिगत राजनीतिक फाइदाका लागि शक्तिको दुरुपयोग गर्दै युक्रेनलाई दबाब दिएको आरोपमा महाभियोग प्रक्रिया सुरु भएको हो । तर ट्रम्पले भने आरोपको खण्डन गर्दै आएका छन् । ट्रम्पले मंगलबारबाट डाभोसमा सुरु भएको वर्ल्ड इकोनोमिक फोरमा आफूविरुद्धको आरोप ‘केवल एउटा हल्ला’ भएको बताएका छन् । यसअघि अमेरिकी सिनेटका सदस्यले न्यायाधीशले झैं निष्पक्ष रुपमा काम गर्ने भन्दै शपथ लिइसकेका छन् । ट्रम्पविरुद्धको महाभियोग अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्ससमक्ष भरहेको छ । महाभियोगमाथिको सुनुवाइ हरेक दिन ६ घण्टा र हप्ताको ६ दिने हुनेछ ।

अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीविरुद्धको महाभियोगको सुनुवाइ कहिलेसम्म जारी रहन्छ भन्ने टुंगो छैन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने निर्णय गरेको थियो । तल्लो सदनमा डेमोक्र्याट्सको बहुमत छ । माथिल्लो सदन सिनेटमा रिपब्लिकनको बहुमत भएकाले महाभियोग पारित गरी ट्रम्पलाई पदच्यूत गर्ने सम्भावना भने न्यून रहेको छ ।