जनता टाइम्स

११ माघ २०७६, शनिबार १८:५१

सगरमाथा संवादका लागि मोदी र इमरानलाई निम्तो


काठमाडौं, माघ ११

नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो पठाएको छ । चैत २० देखी २२ सम्म काठमाडौंमा आयोजना हुने कार्यक्रमका लागि निम्तो पठाइएको हो ।

पहिलोपटक नेपालले बहु–साझेदार संवाद कार्यक्रम ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको छ । नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई संवादको लागि निम्तो पठाएको छ । विभिन्न देशका प्रमुख, मन्त्री, व्यापारी, नागरिक समाज, विज्ञहरु तथा संचारमाध्यमहरु कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ ।

भारत दक्षिण एसिया क्षेत्र हेर्न विभागले नेपालले पठाएको निम्तो प्राप्त भएको बताएको छ । यस कार्यक्रममा सार्क राष्ट्रका सबै प्रमुखहरुलाई निम्तो दिइएको छ । कार्यक्रम नेपालको वर्तमान इतिहासमा सबैभन्दा ठूलो कुटनीतिक पहलको उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ ।

नेपालले काठमाडौंमा आयोजना गर्न लागेको यस सगरमाथा संवादमा सार्कलाई फेरि सक्रिय बनाउने विषयमा छलफल अगाडि बढाउने अनुमान गरिएको छ । भारत र पाकिस्तानबीचको आन्तरिक विवादले सन् २०१६ मा पाकिस्तानले आयोजना गर्ने भनेको सार्क सम्मेलन हुन सकेन ।