जनता टाइम्स

१२ माघ २०७६, आईतवार ०९:०१

अबको युग प्राबिधिक शिक्षाको युग : पूर्वराष्ट्रपति यादव


रमेश गिरी/भक्तपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अबको युग प्राबिधिक शिक्षाको युग भएको बताउनु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका १ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा शनिवारबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले प्राबिधिक शिक्षा र सिपले मात्रै रोजगारी बृद्धि गर्ने बताउनु भयो ।

सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदै उहाँले शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कूल ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्ने भएपनि ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर राम्रो नभएको उहाँको भनाई थियो ।

पूर्वराष्ट्रपति डा. यादवले देशका ८० प्रतिशत किसान तथा मजदुरका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शिक्षाको सुधारविना देश विकास हुदैन भन्दै नेपालको विश्वविद्यालयको शिक्षाको गुणस्तर समेत निकै खस्किएको भनाई राख्नुभयो । देशको शिक्षा र स्वास्थ्य क्षेत्र भद्रगोल बन्दै गएकोमा चिन्ता लागेको छ भन्दै उहाँले आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा र अहिलेको स्वास्थ्य अवस्थामा कुनै सुधार नभएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिकाको नमूनाको रुपमा अगाडि बढेको चाँगुनारायण माध्यामिक विद्यालयलाई प्राबिधिक विषयको नमूनाको विद्यालय बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको आवश्यक समन्वय गरि विद्यालयको विकासका लागि आर्थिक सहयोग र अन्य सहयोगका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

त्यसअवसरमा वागमति प्रदेशका सदस्य कृष्णलाल भँडेलले संसद विकास कोषबाट चाँगुनारायण माविलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले विकास, शिक्षा र स्वास्थ्यमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्यले एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य सहित महायज्ञ सुरु गरेको बताउनुभयो । कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष उद्धव खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । यसअघि आजै विहान कलश यात्रा गरिएको थियो ।