जनता टाइम्स

१३ माघ २०७६, सोमबार १७:४९

होमवर्क नगरेको भन्दै यी शिक्षकले भाँचिदिए विद्यार्थीको हात


सिरहा, माघ १३ । शिक्षकको कुटाईबाट सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत एक बिद्यार्थी हात भाँचिएको छ । सो बिद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको हो ।

नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले बिद्यार्थी यादवको हात भाँचिने गरी कुटपिट गर्नुभएको परिवारका सदस्यहरुले बताएका छन । शिक्षक कार्कीको कुटाईबाट घाइते बिद्यार्थी यादवको हातमा ब्यान्डेज गरिएको छ । रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रवासमा बसेर पढ्दै आएका बिद्यार्थी हुन । उनको काका देवकुमार यादवले बालबालिकालाई होमवर्क नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको बताउनु भयो ।

‘हातै भाँच्चिने गरी कुटपिट भएको छ । होमवर्कको नाउँमा बालबालिकालाई भौतिक दण्ड दिन मिल्दैन,’ पीडित बिद्यार्थीका काका यादवको भनाई छ । कुटपिटमा संलग्न शिक्षकलाई आवश्यक कारबाहीको माग गरेको पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका यादवले बताउनु भयो ।