जनता टाइम्स

१५ माघ २०७६, बुधबार १३:३८

काठमाडौं महानगरपालिकाको सहयोगमा गंगालाल हृदय केन्द्रमा अव अक्सिजन प्लाण्ट


काठमाडौं, माघ १५ । सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौं महानगरपालिकाले आज गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ । शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

काठमाडौं क्षेत्र नम्बर–५ का सांसद समेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेर र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा भएको सम्झौतापत्र हस्ताक्षरमा अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निशुल्क अक्सिजन उपलब्ध गराउन आवश्यक पर्ने अक्सिजन प्लाण्ट र त्यससम्वन्धि उपकरण खरिदका लागि लाग्ने सम्पूर्ण रकम महानगरपालिकाले उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि काठमाडौं महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही गरौँ भन्ने उदेश्यका साथ महानगरपालिकाले यस्तो कामको थालनी गरेको बताउनुभयो । ‘हामीले यस अघि नै कान्तिवाल अस्पताललाई पनि अक्सिजन प्लाण्ट जडानका लागि रु दुई करोड दिने सम्झौता गरेका छौँ । फेरि ब्लड सेक्रेसनका लागि थप एक करोड दिने भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसैगरी विरेन्द्र अस्पताल छाउनीसँग पनि हेमोडाइलसिस मेसिन राख्नका लागि रु तीन करोड सहयोग गर्ने सम्झौता गरिसकेका छौँ । त्यहाँ काम सुरु भएको छ ।’

मेयर शाक्यले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही सहयोग गरौँ भन्ने उदेश्यले नै यस्ता कामको थालनी गरेको दोहोर्याउँदै महानगरपालिकाकै सहयोगमा नेपाल एम्वुलेन्स सेवाले १० ओटा एम्वुलेन्समार्फत सेवा दिइरहेको पनि स्मरण गराउनुभयो । ‘स्वास्थ्य सेवाका क्षेत्रमा त्यस्तो केही सहयोग गर्नुपर्ने छ भने तपाईंहरुले वडामार्फत योजना लिएर ल्याउनु होला हामी अझै सहयोग गर्न तयार छौँ,’ शाक्यले भन्नुभयो, ‘तपाईं–हामी सबै मिलेर मात्रै अघि बढ्न सक्छौँ ।’

कार्यक्रमलाई सम्वोधान गर्दै अस्पतालका कार्यकारी निर्देशक डा.अधिकारीले पनि महानगरपालिकाको यस्तो सहयोगबाट आफूहरु उत्साहित भएको भन्दै २० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस अस्पतालमा स्वास्थ्य सेवा लिनेहरुको अत्याधिक भीड बढिरहेको अवस्थामा यो खालको सहयोगले निकै सहज हुने बताउनुभयो । कार्यक्रममा मन्त्री पोख्रेलसँगै स्वास्थ्य राज्यमन्त्री नजराज राउत, प्रदेश तीनका सांसद नारायण सिलवाललगायतको पनि उपस्थिति रहेको थियो ।

स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गर्दै आएको काठमाडौं महानगरपालिकाले यस अघि नै कान्तिवाल अस्पतालका लागि पनि अक्सिजन प्लाण्ट र त्यससम्वन्धि उपकरण खरिदका लागि रु दुई करोड सहयोग गरेको छ । त्यसैगरी गत पुस २ गते हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि विरेन्द्र अस्पताल छाउनीसँग रु तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो । सो सम्झौता अनुसार नै सो अस्पतालले हेमोडाइलोसिस सेवा सुरु गरिसकेको छ ।

केही दिन अघि मात्रै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले श्री विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौं महानगरपालिका वडा नम्बर–१५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि मेसिन खोली सेवाको सुभारम्भ गर्नुभएको थियो ।