जनता टाइम्स

१५ माघ २०७६, बुधबार १७:५०

एनआरएनए युकेको चार करोड घोटाला ढाकछोप गर्न अध्यक्ष पुनम गुरुङ नै सक्रिय


लन्डन, माघ १५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेमा भएको घोटाला ढाकछोप गर्न अध्यक्ष पुनम गुरुङ निकै सक्रिय बनेको पाइएको छ । वास्तबिक अनुसन्धान गरेमा लहरो तान्दा पहरो थर्कने सम्भावना भएकोले घोटालामा संलग्नहरुको सल्लाहमा अध्यक्ष गुरुङ्ग छानविनका नाममा घोटाला लुकाउने अभियानमा लाग्नुभएको पाइएको हो ।

युकेमा ५ सय भन्दा बढी कारोवार गर्दा क्यास खर्च गर्न पाईदैन । युकेको कानुन अनुसार पनि क्यास कारोवार अपराध मानिन्छ । तर यति धेरै क्यास एनआरएनए युकेले भने कसरी चलाइयो ? भन्ने प्रश्नको जवाफ कतैबाट पाउन सकिएको छैन । एनआरएनए यूकेमा झन्डै चार करोड रुपैयाँको हिसाबकिताब गोलमाल भएको हो । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई हिसाब बुझाउन आनाकानी गरेपछि संघको नाममा संकलित करिब २ लाख ९३ हजार पाउन्ड (झन्डै ४ करोड रुपैयाँ) गोलमाल भएको तथ्य केही समय पहिले खुलेको थियो । नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ५ महिना बितिसक्दा पनि पुरानो कार्यसमितिले अहिलेसम्म हरहिसाब बुझाएको छैन ।

संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी कार्यसमितिले हालसम्म बरबुजारत नगर्दा सो रकम कहाँ खर्च भयो भन्ने विषयमा वर्तमान कार्यसमिति बेखवर बनेको हो । स्रोतका अनुसार तत्कालीन अध्यक्ष फगामी र महासचिव राजकुमार त्रिपाठीले आफ्नो आर्थिक तथा भौतिक सम्पतिको विवरण संघमा अझैसम्म बुझाएका छैन । संघको डिसेम्बर ८ तारिख सम्पन्न बैठकमा उपस्थित भएका निवर्तमान अध्यक्ष फगामीले आर्थिक तथा भौतिक विवरण बुझाउने मौखिम जानकारी दिएर उम्कने प्रयास गर्दै आउनु भएको छ ।

संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार नयाँ कार्यसमितिले दुईवटा माइनोट बुकबाहेक अरु केही बुझेको छैन् । ‘पछिल्लो बैठकमा निवर्तमान अध्यक्ष र एकजना सचिव आउनु भयो, हाम्रो हातमा दुईवटा माइनोट बुक राख्दिनुभयो, पुरानो कार्यसमितिबाट हामीले पाएकोे त्यत्ति हो,’ महासचिव भट्टराईले भन्नुभयो । पूर्वकार्यसमितिका सदस्यको विवरण, अनलाइन लगिन डिटेललगायत संस्थाका जिन्सी समानसमेत हस्तान्तरण भएको छैन् ।

भट्टराईका अनुसार बरबुजारत भएको भन्ने मान्ने तर आर्थिक तथा जिन्सीको हिसाव कितावपछि बुझाउने भन्दै फगामीले बरबुजारत गरेको भन्दै अध्यक्ष पुनम गुरुङसँग फोटो खिचाउनु भएको थियो । फगामीको कार्यसमितिले पछिल्लो कार्यसमितिबाट बुझेको ३९ हजार, नेपाल हाउसको ४३ हजार, सदस्यता शुल्कबाट जम्मा भएको १ लाख ३६ हजार, उम्मेदवारी शुल्कवापत उठेको ७३ हजार पाउण्ड गरी जम्मा २ लाख ९१ हजार पाउन्ड (४ करोड भन्दा बढी रुपैयाँ) को विलभरपाई तथा हिसावकिताब बुझाएको छैन् । सो रकम फगामीको २० महिने कार्यकालमा खर्च गरिएको हो ।

‘यति ठुलो ब्रम्हलुटलाई स्वतन्त्र छानविन हुन नदिएको कुरालाई नेपाली समाजले कसरी लेला ? यत्तिकै विर्से मात्र अन्यथा १४ हजार सदस्यको डाटा र तिनीहरुका परिचय पत्रहरुको दुरुपयोग । च्यारीटीका नाममा क्यासको दुरुपयोग, निर्वाचनका नाममा भएको घलेजात्रा आदिलाई लिएर कसैले छानविनका लागि बेलायतका कानुनी निकायलाइ गुहारे के होला ?,’ एनआरएनए युकेका एक सदस्यले भने ।

स्रोतका अनुसार गत सेप्टेम्वर महिनामा सम्पन्न संघको निर्वाचनमा अत्याधिक मात्रामा संस्थाको पैसा खर्च गरिएको छ । एक पदाधिकारीका अनुसार सदस्यता शुल्कवापत उठेको करिब १ लाख पाउन्ड बैंक दाखिला नगरी सिधै नगद बाढेर सकिएको थियो । पुरानो कार्यसमितिले नेपाल हाउसको ४३ जहार पाउन्डबाहेक सम्पूर्ण रकम खर्चिएर बाँकी २६ हजार पाउन्ड घाटा देखाएर विवरण बुझाउने प्रयास गरेको थियो ।
स्मरण रहोस बेलायतको अघिल्लो कार्यसमितिमा बर्तमान अध्यक्ष पूनम गुरुङ उपाध्यक्ष, अध्यक्षमा योग फगामी लगायतका सदस्य आफै हुनुहुन्थ्यो । सोही कारण गुरुङले घोटाला ढाकछोप गर्न लागिपरेको एनआरएनए युकेमा सदस्यहरुको भनाई छ ।

‘यति ठुलो ब्रम्हलुटलाई स्वतन्त्र छानविन हुन नदिएको कुरालाई नेपाली समाजले कसरी लेला ? यत्तिकै विर्से मात्र अन्यथा १४ हजार सदस्यको डाटा र तिनीहरुका परिचय पत्रहरुको दुरुपयोग । च्यारीटीका नाममा क्यासको दुरुपयोग, निर्वाचनका नाममा भएको घलेजात्रा आदिलाई लिएर कसैले छानविनका लागि बेलायतका कानुनी निकायलाइ गुहारे के होला ?,’ एनआरएनए युकेका एक सदस्यले भने ।