जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:५१

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक


धुलिखेल, जेठ १

धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोक ब्याञ्जुले भन्नुभयो, “हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पुर्याउने उद्देश्यले अभिलेखका रुपमा तयार गरेका हौं ।” पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ । प्रमुख ब्याञ्जुले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्याण्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताउनुभयो ।

त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ । प्रहरी कार्यालयलाई १० टेलिभिजन सेट हस्तान्तरण धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलका लागि १० वटा टेलिभिजन हस्तान्तरण गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्कालाई ३२ इन्चका १० एलइडी टेलिभिजनको सेट हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख ब्याञ्जुले कैदीबन्दीलाई र प्रहरी जवानलाई सूचना ग्रहण गर्न र मनोरञ्जन लिनका लागि टेलिभिजन सेट प्रदान गरेको बताउनुभयो ।