जनता टाइम्स

२० माघ २०७६, सोमबार १८:५६

बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले सुरु गर्यो चौबिसै घण्टा डायलेसिस सेवा


चितवन, माघ २० । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताउनुभयो । सो अवसरमा उहाँले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताउनुभयो । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिनुभयो । भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस सेवा शुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् । सरकारले मिर्गाैलाको डायलेसिस सेवा निःशुल्क गरेको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछ ।

एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा

जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् । हालसम्म १२८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले सङ्क्रमितहरुको स्वास्थ्य बीमा गरेका हुन् । स्वास्थ्य बीमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन् ।

चालु आवकोे जेठ मसान्तभित्र सबै सङ्क्रमितको स्वास्थ्य बीमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिनुभयो । गत आवबाट सङ्क्रमित परिवारको बीमा गर्न थालिएको थियो । एकै परिवारमा चारजनासम्म सङ्क्रमित हुने गरेकाले सङ्क्रमितहरुको सङ्ख्या अनुसारको परिवारको सङ्ख्या कम रहेको छ । जिल्लाका सबै तहले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको सङ्क्रमित रामवहादुर थापा (नाम परिवर्तन) ले बताउनुभयो ।

आफ्नो कमाई नहुँदा बीमा गर्न कठिन भएको र स्वास्थ्य परीक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उहाँले अहिले सबै परीक्षण बीमामार्फत गर्दै आएको बताउनुभयो । अस्पतालमा रहेको सेन्टरबाट ९३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् ।