जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १२:३५

५४ औँ विद्यार्थी एकता दिवसमा प्रभातफेरी


काठमाडौं, जेठ १

५४ औँ विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त प्रभातफेरी गरेका छन् । वि.स.२०२१ जेष्ठ १ गतेलाई विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको एकता र विजयको उत्सवको दिनको रुपमा मनाउँदै आएका छन् । आज बिहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशूल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाइएको थियो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष नविना लामाले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गर्नुभयो ।

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अनेरास्ववियूका पुर्व अध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनालीले पनि सम्बोधन गर्नुभएको थियो ।