जनता टाइम्स

२३ माघ २०७६, बिहीबार ०८:४५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाए सफाइ


वासिंटन डिसी, अमेरिका । अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्ततः राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाउनुभएको छ । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उहाँलाई राष्ट्रपति पदबाट हट्न नपर्ने गरी उन्मुक्ति पाउनुभएको हो ।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२–४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उहाँले आफ्नो पक्षमा ५३–४७ मत पाउनुभयो । विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उहाँमाथि अभियोग लगाएका थिए ।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनुहुनेछ । बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका विषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो । डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो । नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोज्नुभएका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आउनुभएको छ ।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ, ‘राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त हुनुभएको छ यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो । केही नगर्ने डेमोक्र्याटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए ।’

माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्थ्यो । तर संसद्‌को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनी हिनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिनुभएको छ ।