जनता टाइम्स

२३ माघ २०७६, बिहीबार १३:३६

कोरोना भाइरसबाट बचाउने गरी नागरिकको स्वास्थ्य र सुरक्षाको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, माघ २३

नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री र पर्यटन मन्त्री योगेश भट्टराईसहित मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिनु भएको हो । उहाले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण समेत गराउनु भएको छ ।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उहाँले बैठकमा निर्देशन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनु भएको थियो । यसैबीच, नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।