जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १६:३६

आफैँ गर्भपतन गराउन खोज्दा १३ वर्षीया किशोरीको ज्यान जोखिममा


बाँके, जेठ १

नेपालगञ्ज उपमहानगरपालिका-१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन्। यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले आफैँ गर्भपतन गर्न खोजेकी थिइन्। गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो। प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए।

प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो। “बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ,” उहाँले भन्नुभयो । बालिकाले असुरक्षित रुपमा गर्भपतन गर्ने औषधि सेवन गर्दा अत्यधिक रक्तश्राव भइरहेको छ। प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ । घटनाको गहन अनुसन्धान भइरहेको छ।”

१३ वर्षीय बालिका गर्भवती हुनु र कसले गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ। अत्यधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमी भएको अस्पतालले जनाएको छ।