जनता टाइम्स

२६ माघ २०७६, आईतवार १२:४७

सञ्चार उद्यमी जमिम शाह हत्याको १० वर्षसम्म पक्राउ परेनन प्रमुख योजनाकार र सुटर : भएन छानविन समितिको सुझाव कार्यान्वयन


काठमाडौं, माघ २६ । सञ्चार उद्यमी जमिम शाहको हत्या भएको दश बर्ष बितेको छ । तर यति लामो समयसम्म शाहका हत्याका प्रमुख योजनाकार र सुटर भने अझै पक्राउ पर्न सकेका छैनन । राष्ट्रवादी छवि बनाएकै कारण सुनियोजित हत्याको शिकार हुनुभएका शाहको परिवारलाई मुख्ययोजनाकार र सुटर पक्राउ नपर्दाको पीडा थामिसक्नु छैन ।

२४ माघ २०६६ मा तात्कालिन उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता निकै बढाएको थियो । तर, त्यही दिन लाजिम्पाटमै शाहको निर्मम हत्या भयो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमै सञ्चार उद्यमी शाहमाथि गोली हानी हत्या गरेको थियो । घटनाका मुख्य अभियुक्तहरू अझै पक्राउ परेका छैनन् भने छानबिन आयोगले सुरक्षा बलियो बनाउन दिएका सुझाबहरूसमेत कार्यान्वयन भएका छैनन । तीन कारणले यो घटना निकै संवेदनशील भएको प्रहरी अधिकारीहरूको भनाई छ । पहिलो, यसमा अन्तरदेशीय आपराधिक गिरोहको संलग्नता थियो । दोस्रो, यसमा नेपाल प्रहरी अधिकारीकै मिलेमतो थियो । र तेस्रो, देशको भिआइपी क्षेत्रमा दिउँसै गोली हानेर हत्या गरेर सुटरहरू सजिलै भाग्न सफल भएका थिए ।

जमिम शाह हत्याको घटनामा प्रहरीको अनुसन्धान अझै अधुरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २७ फागुन २०६६ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दायर गरेको थियो । तीन वर्षपछि जिल्ला अदालतले पाँचैजनालाई दोषी ठहर गरेको थियो । तर जेल परेका सबैजना अहिले छुटिसकेका छन । प्रहरीले तत्कालीन सइ प्रकाश क्षेत्री, हतियार व्यवस्थापन तथा सुटरलाई भगाउन भूमिका खेल्ने लक्ष्मण धमला र प्रकाश खड्का, गिरोहलाई सहयोग गर्ने पूर्वडिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर भएको थियो । पौडेल अझैसम्म फरार छन । उनकै कार्गो अफिसलाई आपराधिक समूहले हतियार लुकाउन प्रयोग गरेको थियो ।

छोटा राजन समूहको निर्देशनमा बब्बु श्रीवास्तवले यो हत्या गराएको छानबिन आयोगको निष्कर्ष थियो । त्यसका लागि त्रिलोक सिंह भनिने दीपक शाही पटकपटक नेपाल आएका थिए । तर उनीहरु सवैलाई नेपालमा ब्यवस्थापन पूर्व डिएसपी चन्दले नै गरेका थिए । जमिमका निकै बिश्वासपात्र मानिने चन्दले नै उहाँको हत्या योजनालाई कार्यान्वयन गर्न भुमिका खेलेका थिए ।