जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १९:४०

चीनका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा, स्वास्थ्यमन्त्री ढकालले दिनुभयो यस्तो जानकारी


काठमाडौं, माघ २८ । सरकारले कोरोना भाइरस प्रभावित चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो जानकारी गराउनु भएको हो । सरकारले आगामी शनिवार चीनबाट नेपाली नागरिकलाई पहिलो चरणमा नेपाल ल्याउने निर्णय गरिसकेको छ ।

मन्त्री ढकालले हुवानबाट नेपाली नागरिक छिटै ल्याउने भने पनि कहिलेसम्म स्वदेश ल्याउने भन्ने बारेमा मिति तय भइनसकेको जानकारी दिनुभयो । चीनबाट पहिलो चरण आगामी शनिवार १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी सरकारको छ । मन्त्रीका ढकालका अनुसार चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको छ ।

नोबेल कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएपछि विश्वभर महामारीका रुपमा फैलिन थालेपछि चीनबाट ल्याइएका नेपाली नागरिकलाई राख्नका लागि ‘क्यारेन्टाइन’ स्थलको सुनिश्चित गरिएको हो । ‘क्यारेन्टाइन’ स्थालको सुनिश्चिततासँगै सरकारले चीनमा रहका आफ्ना नागरिक ल्याउन लागेको हो ।