जनता टाइम्स

२९ माघ २०७६, बुधबार २०:०८

कोरोनाका आशंका गरिएका साउदीका नागरिक टेकुबाट यसरी भागे


काठमाडौँ, माघ २९

चिन हुदै नेपाल आएका एक विदेशी नागरिकमा कोरोनाको आशंका गरिरहेका बेला अस्पतालबाट फरार रहेका छन् । साउदी अरबका शंकास्पद बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले चीनलाई ट्रान्जिट बनाएर आएका साउदी अरबका नागरिक अस्पतालमा भर्ना हुन नचाही भागेको बताउनु भयो । रुघा र ज्वरो आएपछि उनी केहि दिनअघि कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका थिए ।

‘चेकजाँचका क्रममा उनलाई कोरोनाको आशंका भएपछि भर्ना गर्नु पर्छ भनिएको थियो तर उनी भर्ना नभइ त्यहाँबाट भागे,ु प्रवक्ता श्रेष्ठले बताउनु भयो, ‘उनी भर्ना हुन चाहेनन्, हामीले पुलिस लगाउन पनि सकिएन ।’ फारसी बोल्ने भएकाले भाषामा पनि समस्या भएको श्रेष्ठले बताउनु भयो ।

ती शंकास्पदको खोजी भइरहेको तर फोन नम्बर नभएकाले खोजी गर्न समस्या भएको मन्त्रालयले जानकारी दिएको छ । कानुनले त्यसरी भाग्ने व्यक्तिलाई सजायको समेत व्यवस्था गरेको छ । स‌ंक्रामक ऐन २०२० अनुसार तोकिएको ठाउँमा बस्न नमानेको खण्डमा सजायको व्यवस्था रहेको छ ।

टेकु सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सोमबार राति दुई अरबी नागरिक जाँच गर्न अस्पताल आएको बताउदै एक जनामा रिपोर्ट आशंका गरिएको जानकारी दिए । ‘एकजनामा शंका लागेर भर्ना गरियो। तर, उनको रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई हिजै डिस्चार्ज गरिसकियो। उनीसँगै आएका अर्कालाई पनि भर्ना गर्न खोज्दा नमानी गए’, उहाले भन्नुभयो । उनले आफूलाई केही नभएको भन्दै अस्पताल बस्न नमानेका हुन् । मन्त्रालयका प्रवक्ता श्रेष्ठले अहिलेसम्म कोरोनाको आशंकामा २० जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै पुष्टि भएको बताउनु भयो ।