जनता टाइम्स

२९ माघ २०७६, बुधबार २१:०३

नेपाली उद्धार गर्न विमान शनिवार ३ बजे चिन जाने, खरिपाटीमा क्वारेन्टाइन निर्माण पूरा


काठमाडौँ, माघ २९

कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो । ‘शनिबार दिउँसो पौने ३ बजे हाम्रो जहाज काठमाडौंबाट वुहान जाँदैछ,’निगमको अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनले भन्नुभयो, ‘उताबाट फर्किदा राति सवा २ बजे जहाज काठमाडौं अवतरण हुनेछ ।’ उक्त विमानमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ७ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन् ।

यसैबीच, नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले आज चाँगुनारायण नगरपाकिालमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उहाँले बताउनुभयो । चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण नहुने दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो ।