जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार ११:४५

चीनबाट फर्काउने नागरिक राख्न क्वारेन्टाइन बनाएपछि भक्तपुरबासी त्रसित, यस्तो छ कारण


रमेश गिरी/भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मुख्य गेट मै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँचवटा नाराहरु लेखिएका छन् । गेटको दायाँ बायाँ भित्ता र रुखहरुमा पर्चा, पम्पलेट टाँसिएका छन् ।

गेटमा प्रहरीहरु तैनाथ छन् । प्राधिकरणको गेट अगाडि आजभोलि दैनिक स्थानीय बासिन्दाले सरकारबिरुद्द नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाईरहेका देखिन्छन, महिला र जेष्ठ नागरिकहरुको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ । बस्तीको बिचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेको १८५ जना नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्यहरु हुन यी ।

आज खरिपाटीको गेटमा उभिएका स्थानीय ५६ वर्षीय राजाराम कार्कीले निकै चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘हामी यही ठाउँमा बस्छौं, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यही राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छांै, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको होला, अब हामीलाई सरकारको कुनै आश छैन ?’ उहाँ मात्रै होईन, यतिखेर सिंगो भक्तपुरका बासिन्दामा बढेको त्रास र चिन्ता हटाउन सम्बन्धित निकायले खासै पहल गरेको छैन, उल्टै सुरक्षकर्मीले धम्क्याउँछन् । एकातिर त्रास, अर्कोतिर आक्रोस दुबै छ, यतिखेर भक्तपुरका बासिन्दामा । सरकारले चीनबाट कोरोना भाईरस संक्रमति भएका नेपालीलाई होईन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन ।

‘स्थानीय बासिन्दालाई भाईरस संक्रमति होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भएपनि यति धेरै त्रास र आक्रोस हुने थिएन, स्थानीयको बिरोधका बाबजुत प्रहरी तैनाथ गरेर जबरजस्ती क्वरेन्टाईन बनाएपछि त्रास र आक्रोस बढेको हो, यहाँ सरकारले जनताको भावना बुझेको देखिएन,’ चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधी कमला गिरी भन्नुहुन्छ । प्राधिकरणको गेटमा राखिएको ब्यानरमा ‘नेपाल सरकार खबरदार, कोरोना भाईरसको उपचार बस्ती एरियामा गर्न पाईदैन, स्थानीयको स्वास्थ्यमा खेलबाँड गर्न पाईदैन, खरिपाटीमा क्वारेन्टाईन राख्ने निर्णय फिर्ता गर, उपचारको नाममा स्थानीय बासिन्दा बिस्थापित गर्न पाईदैन, स्थानीयको स्वास्थ्यमा खेलबाड गर्न पाईदैन, बस्तीमा क्वारेन्टाईन राख्न पाईदैन, जनता मार्न पाईदैन’ जस्ता नाराहरु लेखिएका छन ।

नारा लगाउदै गरेका खरिपाटीका प्रकाश लामिछानेले क्वारेन्टाईन राख्न यो ठाउँ कसरी उपयुक्त भयो ? कसरी सुरक्षित राखिन्छ ? संक्रमित भेटियो भने स्थानीयको सुरक्षा कसरी हुन्छ ?, यो यहाँका जनताले जान्न पाउनु पर्ने बताउनुहुन्छ । जनतालाई सुरक्षाको आश्वस्त पार्न छाडेर प्रहरी र प्रशासनले प्रहरी लगाएर दमन गर्न खोज्ने र जबरजस्ती क्वारेन्टाइन बनाउन खोजेपछि जनतामा त्रास र आक्रोस बढेको उहाँले बताउनुभयो । नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई वेवास्ता गरेर क्वारेन्टाईन बनाउन यो ठाउँको छनौट गर्नु गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राधिकरणको वरिपरि घनावस्ती छ, ५०० मिटर पर नेपाली सेनाको दुई वटा ब्यारेक छ, खानीपानी मुहान यही छ, जनता एउटा माक्स किन्न सक्दैनन्, एउटा सिटामोल किन्न दुईकिलोमिटर पर कमलविनायक पुग्नु पर्छ, एकजनामा मात्रै यहाँ भाइरस संक्रमित देखियो भने, त्यसले महामारीको रुप लेला भनेर त्रास बढेको हो ।’ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अझै सरकारले पुर्नविचार गर्नुपर्ने बताउनुहुन्छ । बस्तीको बिचमा नभई बस्ती भन्दा टाढा क्वारेन्टाईन बनाएर चीनबाट फर्काउने नेपालीको उपचार गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यता चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारकासंग कुनै समन्वय नै नगरी हस्तक्षेप गर्दै यहाँ क्वारेन्टाईन राख्न खोज्नु गलत भएको बताउनुभयो ।

यो बस्तीको बिचमा छ, अलिकति पनि असाबधानीले ठूलो जोखिम निम्त्याउन सक्छ भन्नेमा सरकार सचेत नभएको भन्दै जबरजस्तीले स्थानीयमा बढेको त्रासले नै आक्रोस पैदा गरेको बताउनुहुन्छ । क्वारेन्टाईन बस्ती भन्दा दुईचार किलोमिटर परै बनाउनु पर्नेमा बिज्ञहरुले समेत खेलाची गरेको उहाँको भनाई छ ।