जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार २०:३३

नेपालमा अहिलेसम्म कोरोना भाइरस देखिएको छैन, चीनमा रहेका नेपालीमा पनि संक्रमण छैन : स्वास्थ्यमन्त्री ढकाल


पाल्पा, फागुन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना भाइरसको संक्रमण नरहेको प्रष्ट पार्नुभएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रका नेपालीमा परीक्षण गर्दा यस्तो तथ्य आएको मन्त्री ढकालले जानकारी दिनुभएको हो ।

‘चीनमा रहेका नेपालीमा कोरोनाको संक्रमण छैन, १८ जना नेपालीमा परीक्षण गरिएकोमा कोही पनि संक्रमित भेटिएनन,’ पाल्पाको दमकडामा आजदेखि प्रथम पाल्पा महोत्सव उदघाटन गर्दै स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो । उहाँले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको र आतंकित पार्न खोजिएको पनि बताउनु भयो । ‘नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस देखिएको छैन, गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता छ,’ मन्त्री ढकालको भनाई थियो ।

‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ आजबाट पाल्पाको दमकडामा प्रथम पाल्पा महोत्सव शुरु भएको हो । फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ । समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् ।

त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको उहाँले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय उत्पादित वस्तु, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पाल्पाका विभिन्न जाजजाति, धर्म, संस्कृति अनसारका झाँकी, घाटु नाच, लाखे नाच, चुट्का, रोइला, झ्याउरे, सोरठी कडुवा, ख्याली भजनलगायतका सांस्कृतिक प्रस्तुति देखाइने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोवार हुने अपेक्षा आयोजकको छ ।